सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटमा मंगलवार विहान–२ बजे कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खोटाङ हलेसीबाट काठमाडांै तर्फ जादै गरेको बा.१३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका –३१ नयाँबानेश्वर बस्ने ४५ की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन् ।

दुर्घटनामा कारका चालक सोही ठाउँका मृतक हेमा लामिछानेका श्रीमान ५८ वर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ वर्षिया छोरी आस्था लामिछाने घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिए । घाइते दुवैको अवस्था मध्यम रहेको उनले जानकारी दिए । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल सुनकोशी नदीमा खसेको उनले बताए ।