धरान: धरानको भानुचोक भएर दिनहुँ धरानका स्थानीय सरकार प्रमुख(कार्यवाहक मेयर) ओहोरदोहोर गर्छिन् । प्रदेशसभाका सांसदहरु पनि त्यही बाटो भएर हिड्छन् । तर, धरानको मुख्य भानुचोकस्थित भानुभक्तको सालिक सँगैको खाल्डोमा भने कसैको नजर पर्न सकेको थिएन । यो खाल्डोले आम सर्वसाधारण तथा सवारी चालक, मोटरसाइकलहरुलाई भने धेरै सास्ती थियो ।

अत्यन्तै भिडभाड हुने र ब्यस्त ठाउँमा खाल्डोले गर्दा धेरै दुर्घटना पनि हुन्थ्यो । ट्राफिक प्रहरीको लागि यो खाल्डो टाउको दुःखाई बनेको थियो । तर, खाल्डो पुर्न न उपमहानगरपालिकाले चासो दियो, न वडाका जनप्रतिनिधिहरुले । सडक विभागले पनि खाल्डो पुर्न वास्ता गरेन । कतैबाट पनि खाल्डो पुर्न र सहज आवागमनमा चासो नदिएपछि ट्राफिक प्रहरीको पहलमा उक्त खाल्डो पुरिएको छ ।

bhanu-chowkk

जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक होमराज दाहालका अनुसार यो खाल्डो पुर्न धरान १३ का घनश्याम तिवारीले ३ बोरा सिमेन्ट सहयोग गरे भने वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बूले गिटी बालुवा सहयोग गरेका थिए ।

यस्तै, धरान बसपार्क व्यवस्थापन समितिको तर्फबाट ६ बोरा सिमेन्ट सहयोग भएको थियो । 'धरान १७, रेल्वेका राजु बोगटी र सिटी सफारी चालक विष्णु कार्कीले पनि धेरै सहयोग गर्नुभयो,'जिल्ला ट्राफिक प्रमुख दाहालले भने,'खाल्डोले धेरै समस्या भएको थियो । कति दुर्घटना भयो, अब त्यस्तो नहोला ।'

तस्बिर स्रोत: किरण श्रेष्ठको फेसबुक