धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको नवनिवार्चित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण भएको छ ।

संघको हलमा सोमबार आयोजित एक समारोहबीच नवनिवार्चित कार्यसमितिको सपथ तथा पद हस्तान्तरण गरिएको हो । जेठ २७ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा गिरीधारी सापकोटा र अन्य १९ जना सदस्यहरु चुनिएका थिए । प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक डा.राजेन्द्र शर्माले निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । यस्तै, निवर्तमान अध्यक्ष राजेन्द्र साहले नवनिर्वाचत अध्यक्ष सापकोटालाई पद हस्तान्तरण गरका थिए ।

डा.शर्माले सपथ खुवाउनुअघि छोटो मन्तव्य राख्दै सदस्यता नवीकरणलाई सुधारको खाँचो भएको टिप्पणी गरे । उम्मेदवार बन्न चाहनेले सदस्यता नवीकरण गरिदिने र खल्तीमा पैसा बोकेर हिड्ने चलनकोे अन्त्य गर्नुजरुरी भएको बताए । ‘सदस्यता नवीकरण उम्मेदवार बन्न चाहनेले गरिदिने यो जुन चलन छ, यसको अन्त्य हुनुपर्छ,’डा.शर्माले भने,‘नवीकरण र निर्वाचनको विधिलाई पारदर्शी बनाउन जरुरी छ । यसको लागि बायोमेट्रिक मेशिन प्रयोग गर्नुपर्छ । नवीकरणमा मात्र होइन, भोटिङमा पनि काम दिन्छ ।’

IMG_8853

प्रमुख अतिथि एवं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले पनि शुभकामना मन्तव्यको क्रममा यो बिषयमा टिप्पणी गरेका थिए । ‘सदस्य खोजी खोजी पैसा बोकेर नवीकरण गर्ने चलन हटाउनुपर्छ, संस्थाको गरिमा राख्नुपर्छ,’सभामुख भण्डारीले भने,‘राजनीतिबाट मुक्त भएर, स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीको हितमा लाग्नुपर्छ ।’

औद्योगिक ग्राम बनाउन माग

नवनिर्वाचित अध्यक्ष सापकोटाले प्रदेश सरकारलाई साना औद्योगिक ग्राम बनाउन आग्रह गरेका छन् । साना तथा घरेलु उद्योगहरु सञ्चालनमा धेरै समस्या भएको बताउदै उनले औद्योगिक ग्राम भए सञ्चालनमा सहज हुने बताए । ‘थुक्पा,पाउरोटी उद्योग हुदा छिमेकीले विरोध गर्छन्, त्यसैले त्यस्ता उद्योगहरुको लागि औद्योगिक ग्राम बनाउनुपर्छ,’सापकोटाले भने,‘सरकारले साना उद्योग, व्यवसायलाई प्राथमिकता दिनुपर्छ ।’

IMG_8852

सापकोटाले धरानमा रात्रीकालिन बजार सञ्चालन गर्न आफ्नो पहल हुने बताए । स्थानीय सरकार, प्रदेश सरकार र प्रहरी, प्रशासनसँग समन्वय गरेर रात्रीकालिन बजार सञ्चालन गर्न आवश्यक भएको उनको भनाई थियो । उद्योगी, व्यवसायीको हित र बजार प्रर्वद्धनमा आफु सदैव लागिपर्ने उनले बताए ।