इटहरी: इटहरीमा प्रत्येक आईतबार र बुधबार लाग्ने साप्ताहिक बजार व्यवस्थित गर्न सरोकारवालाबीच छलफल भएको छ ।

ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ का प्रमुख एसपी भीम दाहाल, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डीएसपी समीरचन्द्र खरेल, इटहरी ९ का वडा सदस्य शिबराज शर्मा लगायत स्थानीय बुद्धिजीविको सहभागितामा आईतबार र बुधबार लाग्ने बजार व्यवस्थि तगर्न छलफल गरिएको हो । बजारको दिन सिटी सफारी अव्यवस्थित पार्किङ गरिदैँ आएकाले यसलाई व्यवस्थित गर्न लागिएको एसपी दाहालले बताए । उनले भने,‘सडक क्षेत्रमा बजार लाग्ने गरेको छ, यो नै चुनौती हो, तर यहाँ सफारी आवागमनले अव्यवस्थित छ, यसको व्यवस्थापन गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

बजारको दिन भीड हुने भएकाले व्यवस्थित गर्न आवश्यक भएको उनले बताए । यो कदम आफुहरुले कदम चालेको भएपनि इटहरी उपमहानगरपालिकासँग पनि समन्वय गर्ने तयारीमा रहेको उनले बताए । उनले भने,‘हामीले इटहरी उपमहानगरपाकिलासँग पनि के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छौँ, सडक क्षेत्रमा हाट लाग्ने काम हुन हुँदैन ।’ उनका अनुसार सडकमा बजार लाग्ने र सवारी आवागमन समेत हुने भएकाले दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

आमन्त्रित स्थानीयले भने साप्ताहिक रुपमा लाग्ने हाटबजारका लागि छुट्याएको ठाउँमा एकै प्रकारका सामाग्रीहरु एक लाईनमा राख्ने, अर्काे प्रकारका सामाग्रीहरु अर्काे स्थानमा राखेर बजार लगाउनुपर्नेमा जोड दिएका थिए । बजारमा सामान बेच्ने मानिसहरुले पनि अव्यवस्थित तरिकाले बजार लगाउने गरेको स्थानीयको भनाई रहेको थियो । अहिले लागेको बजार इटहरी ६ को टेङग्रा पुलको सिमाना वारी र इटहरी ९ मा लाग्ने गरेको छ ।