इटहरी: यही असार १४ गते हुन लागेको इटहरी उद्योग बाणिज्य संघको निर्वाचनका लागि मंगलबार इटहरीमा उमेद्वारहरुले आफ्नो नाम दर्ता गराएका छन् ।

मनोनयन दर्ता गर्ने क्रममा अध्यक्ष पदका प्रत्यासी शैलेस बिष्ट र भीम पौडेल समूहका मानिसहरुले शक्ति प्रदर्शन गरे । उनीहरुले सयौैंको संख्यामा इटहरी नगरपरिक्रमा गर्दै उम्मेदवारी दर्ता गराए । पौडेल समूहले चुनाव जिते झैं गरी बाजागाजा सहित उम्मेद्वारी दर्ता गराएको थियो भने बिष्ट समूहले चुनावी गीत बजाएर नगरपरिक्रमा गरी उम्मेदवारी दर्ता गराएको थियो ।

चुनाव नजिकिदै गर्दा यतिबेला व्यवसायीहरु आ–आफ्नो समूहले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनीहरुले आफु राजनीति भन्दा माथि उठेर चुनाव लडेको दाबी गर्दै आएको भएपनि एक–एक दलबाट उनीहरु चुनावी मैदानमा होमिएको स्वयम् उम्मेदवारहरु नै स्वीकार गर्छन् । भीम पौडेल नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा होमिएका छन् भने शैलेश बिष्ट तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन् । तथापी, उनीहरु एक अर्कामा आँफू राजनीतिक दलबाट चुनावी मैदानमा नउत्रिएको दाबी गर्दै आएका छन् । बिष्ट भन्छन्, ‘मैले कुनै चुनावी सभामा राजनीतिक दलका मानिसहरु लगेर भाषण गराएको छैन, भोट मागेको छैन ।’

itaharie

यता, पौडेल आँफू व्यवसायीको नेतृत्व गर्नका लागि चुनावी मैदानमा उत्रिएको बताउँदै भन्छन्, ‘उहाँ (विष्ट) समूहका साथीहरु यसअघिको उवासंघको चुनावमा व्यवसायीको नेतृत्व गर्नका लागि आउनुभएको हो कि पार्टीको ?’ उनले यसअघि बिष्ट समूहका मानिसहरुले उवासंघका चुनाव जितेको भएपनि पार्टीको झण्डा बोकेर हिडेको आरोप लगाउँदै आँफू व्यवसायीका लागि काम गर्न चुनावी मैदानमा होमिएको बताए ।
पौडेल दुई कार्यकाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा रहेर काम गरेका छन् भने बिष्ट वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पौडेल समूहबाट जीवन पराजुली, विष्णु रिजाल, नवराज काफ्ले, पिताम्बर पोखरेल, अनिल सुब्बा, राजु राय, अशोक मोर, रामकुमार श्रेष्ठ र खगेन्द्र विमली चुनावी प्रतिष्पर्धामा होमिएका छन् भने विष्ट समूहबाट टंकप्रसाद खनाल, कमल पौडेल, माधव न्यौपाने, फडिन्द्र मगर, लक्ष्मी धिताल, राजेश खनाल, भोला निरौला, रितेश श्रेष्ठ र देवराज मेदानले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

itari9

यस्तै, महिला उम्मेद्धारमा पौडेल समूहबाट गायत्री भण्डारी र सविना (शोभा) कोइरालाले उमेद्धारी दिएका छन् भने बिष्ट समूहबाट समूहबाट रञ्जु सिग्देल र पुनम थापामगरले महिला उम्मेद्धारी दिएका छन् । यस्तै, दुवै समुहले एशोसिएटमा सुदीप घिमिरेको उम्मेदवारी सार्वजनिक गरेका छन् । यस्तै, वस्तुगतमा पौडेल समूहबाट महेन्द्र रेग्मी र बलराम भण्डारीको उम्मेद्धारी सार्वजनिक गरिदाँ बिष्ट समूहबाट उमानाथ दाहाल (उमेश) र सुरेश कार्कीको उमेद्धारी सार्वजनिक गरिएको छ । तीन बर्षे कार्यकालका लागि हुन लागेको चुनवमा यसअघि २०७३ असारमा भएको निर्वाचनमा कुल ४ हजार १ सय १ जना मतदाता रहेका थिए भने अहिलेको चुनावमा ६ हजार १ सय मतदाता रहेका छन् ।