ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नेकपाद्वारा इनरुवा नगरसभा बहिष्कार” शीर्षकको समाचार छापिएको छ । नेकपाका जनप्रतिनिधिले बहिष्कार गरपछि इनरुवा नगरपालिकाको कार्यालयले डाकेको नगरसभा स्थगित भएको छ । नगरसभाको विषयमा कार्यपालिका सदस्यलगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई अग्रिम जानकारी नगराइएको भन्दै मङ्गलबारका लागि तय गरिएको नगरसभा हुन सकेन । नेकपा इनरुवा नगरसमितिले पत्रकार सम्मेलन गरी इनरुवा नगरपालिकाले अह्वान गरेको नगरसभा बहिष्कारको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष कालुराम गुरुङले नगरप्रमुख र कार्यकारी अधिकृतले एकलौटी पाराले नगरसभा सञ्चालन गर्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा उपस्थित नेकपातर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले इनरुवा नगरपालिकाको हकमा बजेटमा व्यापक अनियमितताको आरोपसमेत लगाएका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “गौरीगञ्जमा गुपचुप गाउँसभा” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सामान्यतया कुनै पनि स्थानीय तहको गाउँसभा वा नगरसभा बस्दा स्थानीयबासीलाई पूर्वजानकारी दिइन्छ । स्थानीयस्तरमा सक्रिय राजनैतिक दल, सङ्घ–संस्था वा वुद्धिजिविहरुलाई सभामा निम्तो गरिन्छ र तिनीहरुबाट सल्लाह र सुझाव सङ्कलन गरी वार्षिक नीति तथा कार्यक्रम तय गरिन्छ । तर झापाको गौरीगञ्ज गाउँपालिकाले मङ्गलबार गुपचुप रुपमा चौथो गाउँसभा गर्यो । यसअघि तेस्रो गाउँसभा पनि यसरी नै गुपचुप गरिएको थियो । गाउँपालिकाले पहिलो र दोस्रो गाउँसभा बस्दा स्थानीयस्तरमा सक्रिय राजनैतिक दल, संघसंस्था तथा पूर्व जनप्रतिनिधिहरुलाई बोलाएको थियो ।

औजार : आजको औजार दैनिकमा “आज इटहरीमा “प्रथम दलित संसद” ” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेशमा पहिलो पटक “प्रथम दलित संसद” हुने भएको छ । सुनसरीको इटहरीमा बुधबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुने भएको दलित अधिकारकर्मी डिवी शाहसंकरले बताए । “सामाजिक न्याय सहितको समृद्धिका लागि साझा प्रतिवद्धता, छुवाछुत र सवल प्रदेश निर्माणमा दलित सहभागिता” मुल नारा सहित दलितहरुको संसद हुने भएको हो । विहान ११ बजे इटहरीको त्रियुगा होटेलमा मुख्यमन्त्रीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । दलितहरुको संसदमा प्रदेशका ९३ नव्वे जना सांसदहरुको समेत सहभागितामा कार्यक्रम हुदैछ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “इटहरीका मेयरलाई कारबाही गर्न माग” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न माग गरिएको छ । मेयर चौधरीले केही दिन अगाडि महिलामाथि बोलेको असभ्य शब्दप्रति खेद व्यक्त गर्दै २१ व्टा सामाजिक संस्थाले कारबाहीको माग गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बुझाइएको ज्ञापनपत्रमा मेयर चौधरीमाथि कारबाहीको कारबाहीको माग गरिएको छ । मेयर चौधरीले बोलका शब्दले नेपालमा रहेका ५१ प्रतिशत महिलाको अपमान भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । असार ४ गतेको सो घटनामा गल्ती भएको भन्दै असार ६ गते चौधरीले प्रेस विज्ञप्ती जारी गरेका थिए । तर विज्ञप्ती मार्फत् माफी मागेर मात्र क्षमा दिन नसकिने र दिन नहुने ज्ञापनपत्रमा उल्लेख छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “गर्भवती बनाई अर्कैलाई जिम्मा” शीर्षकको समाचार छापिएको छ । एक सुस्त मनस्थितिकी महिलालाई गर्भवती बनाएर अर्को युवकलाई पैसाको मोलमोलाई गरी जिम्मा लगाएर बिचल्ली बनाएको छ । ८ महिनाको गर्भ बोकेर ती महिला र उनका परिवार न्यायका लागि सदरमुकाममा भौतारिरहेका छन् । सुन्दै अनौठो र अमानवीय यो घटना भोजपुर नगरपालकास्थित वडा नं. ११ आम्तेकको हो । गत वैशाखमा २५ वर्षीय राममायाँ (नामपरिवर्तन) ले अवैध गर्भ बोकेको थाहाँ पाएपछि परिवारले समाज भेला गरेर कागज नै गरेर छिमेकी “राजन” भनिने मोहनलाल बास्तोलालाई जिम्मा लगाएका थिए । सुरुमा केटाले अस्वीकार गरे पनि पछि जनप्रतिनिधि, प्रहरीलगायतले भनेपछि मोहनलालले स्वीकार गरेको पीडित महिलाका बाबुले बताए ।