इनरुवा: सुनसरीको कोशी गाँउपालिकास्थित लौकहीमा प्रदेशकै सबैभन्दा ठुलो टाउन हलको शिलान्यास भएको छ ।

पूर्वअर्थमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले उक्त टाउन हलको शिलान्यास गरेका हुन् ।सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद कार्कीले शिलन्यास गर्दै आफुले निर्वाचनको बेला भोट माग्दा बोलेको कुरा पुरा गरेको बताए । कार्कीले भने,“मैले जनतालाई भोट माग्दा बोलेको कुरा पुरा गरेको हुँ ।”

सुनसरी क्षेत्र नम्बर ४ मा पछिल्लो समयमा आफुले बोलेको कुरा पुरा गर्ने थालेको सांसद कार्कीको भनाई थियो । उक्त टाउन हलमा राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रयस्तरका सभा सम्मेलन गर्न सकिने बताइएको छ । टाउन हलको क्षमता ८ सय ५० जनाको रहेको छ । यो टाउन हल शहरी विकास तथा भवन निर्माण विभाग संघीय परियोजना कार्यान्वयन ईकाइले निर्माण कार्यको सुरु गरेको हो ।

टाउन हल १८ कठ्ठा जमिनमा निर्माण हुदैछ । हल निर्माणमा ३२ करोड ५० लाख ३९ हजार ९२ रुपैयाँमा खर्च हुने लागत स्टिमेट छ । २०७८ साल असार ४ गते सम्पन्न हुने गरी ठेक्का लागेको छ । सभा हलसँगै चमेनागृह, आधुनिक पार्किङ स्थल, अतिथिहरुका लागि बैठक कक्षलगायतको सुविधा रहने गरी निर्माण कार्य हुन लागेको हो । नेता कार्कीले चाडै सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कृषिको लागि आधुनिक भवन समेत बनाईदिने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सुनसरी सभापति तथा प्रदेश १ संसदीय दलका नेता राजिव कोईरालाले टाउन हल सुनसरीको मात्र नभई प्रदेशकै गौरव भएको बताए । 'सुनसरीमा सुविधा सम्पन्न हल निमार्ण हुनु गौरव हो,'उनले भने ।