पाँचथर : जिल्लाकै दुर्गम याङवरक गाउँपालिका–२, चिङमामा मंगलबार राति अत्यधिक वर्षापछि आएको पहिरोका कारण १५ घर–परिवार विस्थापित भएका छन् ।

पहिरोले स्थानीय पहलमान राईको एउटा घर बगाएको छ भने वडा नम्बर–२ को मुक्लाबुङ, धिमाले र बेतेनी गाउँका १५ घरमा क्षति पुगेको छ । विस्थापित ६० भन्दा बढीलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानहरुमा सारिएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

पहिरोले पशु–चौपायासमेत बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालको नेतृत्वको टोली, थर्पुबाट सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन् ।