ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कृषिको बजेटले ससुराली जाने सडक निर्माण” शीर्षकको समाचार छापिएको छ । झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले आधुनिक कृषिबजार निर्माणका लागि आएको बजेटले आफ्नो ससुराली घर जाने सडक बनाएका छन् । तराई मधेस कार्यक्रम अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपलब्ध रकमले अध्यक्ष आलमले ससुराली जाने सडक निर्माण गरेका हुन् । आलमको घर कचनकवल ६ को वडाबस्तीमा पर्छ । उनको ससुराली घर पाठामारीमा छ । आलमले पाठामारी जाने सडकको फुलबारी खण्डमासम्म त्यो रकम स्तरोन्नतिमा खर्चेका हुन् । आलमले कृषिबजार निर्माणको लागि आएको बजेटलाई रकमान्तर गर्दै आफ्नो ससुराली घर जाने सडक स्तरोन्नति गराएका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “सेउती पुलको १७ लाख बजेट फ्रिज” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सेउती पुल निर्माण समितिका पदाधिकारीसहित धरान ४ का बासिन्दाहरुलाई सेउतीमा पक्की पुल नबन्ला कि भन्ने चिन्ताले सताएको छ । पुल निर्माणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभागले दिएको १७ रुपैयाँ बजेट फ्रिज हुने अवस्था आएपछि गाउँलेहरुलाई चिन्ताले सताएको हो । विभागले पहिले नै बजेटबारे जानकारी दिएको पत्र पुल निर्माण समितिलाई पठाए पनि इनरुवास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय –कोलेनिका)ले बेलैमा जानकारी नदिदा आएको बजेट फ्रिजसँगै पुल नबन्ला कि भन्ने चिन्ता बढेको हो ।

औजार : आजको औजार दैनिकमा “सुनसरीमा खडेरीको संकेत” शीर्षकको समाचार छापिएको छ । असारको पहिलो हप्ताबाट सुरु हुँदै आएको सुनसरीमा धान रोपाई सुरु हुन सकेको छैन । जिल्लामा पर्याप्त वर्षा नभएकाले खडेरीको संकेत र अर्कोतिर भएका नहरहरु सफाई नभएकाले पानीको अभावमा रोपाई सुरु हुन नसकेको हो । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएकोमा यसपाली सुरुदेखि नै खडेरीको संकेत देखिएकाले रोपाई सुरु हुन नसकेको किसान दिपेन्द्र यादवले बताए । यादवले केही किसानहरुले अगाडी नै बिउ राखेकोले विउ सुक्ने डरले भुमीगत र नालापैनीको पानीलाई पम्पसेट मार्फत सिँचाई गरेर रोपाई सुरु गरेको बाहेक रोपाई सुरु नभएको बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “महिलालाई अगाडि ल्याउन लोकसेवा” शीर्षकको समाचार छापिएको छ । लोकसेवाको विज्ञापन विवादित बनेको बेला प्रदेश २ सकारकाले लोकसेवा पास गर्न छात्रालाई विशेष कक्षाको व्यवस्था गरेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जनकपुरमा छात्राका लागि लोकसेवा तयारी कक्षा बुधबारबाट प्रारम्भ गरिएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सुरु भएको लोकसेवा तयारी कक्षाको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् । कौटिल्य इन्स्टिच्यूट जनकपुरको सहकार्यमा सय छात्रालाई लोकसेवा तयारी गराउन प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । कक्षा १५ दिनसम्म चल्नेछ । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए । उनले हरेक निकायमा महिलाको सहभागीता नभएसम्म प्रदेश समृद्ध नहुने बताउँदै सय छात्रालाई लोकसेवा तयारी कक्षा सुरु भएको बताए । उनले अब विस्तारै सरकारी सेवामा महिलाको पहुँच बढ्ने विश्वास व्यक्त गरे। प्रदेश सरकारले महिलाको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण जस्ता कार्य अगाडि बढेको मुख्यमन्त्री राउतले जानकारी गराए । उनले आज बिहीबारदेखि ४ हजार छात्रालाई साइकट वितरण सुरु गरिने पनि बताए ।