धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र रेक्टरको कार्यालयमा तालाबन्दी भएको छ ।

स्नातकोत्तर(एमडि/एमएस)को कोटामा विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर सिट छुट्याएको भन्दै प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज बिहान तालाबन्दी गरेको हो । सोसाइटीले उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दी गरिदिएका छन् । तालाबन्दी पछि जुनियर रेसिडेन्टहरु उपकुलपतिको कार्यालयअघि धर्नामा बसेका छन् ।

यसअघि, गत शनिबार प्रतिष्ठानले एमडि/एमएसको प्रवेश परीक्षा लिएको थियो भने सोमबार रिजल्ट प्रकाशन गरेको थियो । लगत्तै, जुनियर रेसिडेन्टहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको विपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै सच्याउन ७२ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटमको सुनुवाई नभएपछि तालाबन्दीमा उत्रन बाध्य भएको सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले बताए ।

bpkihs 2
प्रतिष्ठानले भने ऐनले भनेवमोजिम नै कुल सिट संख्याको एक तिहाईभन्दा कम सिट संख्या विदेशीलाई छुट्याएको दाबी गर्दै आएको छ । कुल १२४ सिटमा विदेशी कोटामा मात्र २६ सिट छ्याइएको छ । उर्तीण भएका विद्यार्थीहरुको आउदो सोमबार काउन्सिलिङ गर्ने प्रतिष्ठानको तयारी छ ।

यता, आन्दोलनरत जुनियर रेसिडेन्टहरु भने कुल सिट संख्याको नभै प्रत्येक विभाग(बिषय)को एक तिहाई सिट मात्र विदेशीलाई हुनुपर्ने जिकिर गर्छन् । ‘एमडि/एमएस भनेको हरेक विभाग र बिषय फरक हो, त्यसैले कुल सिट भन्न पाइदैन । हरेक बिषयको सिटको एक तिहाई मात्र विदेशीलाई दिनुपर्छ’अध्यक्ष पौडेलले भने ।