काठमाडौँ: २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज सार्वजनिक हुदैछ ।

परीक्षाको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाइएको जानकारी दिएको छ । गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशन गर्न लागिएको हो । परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजाको लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी पाउन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।