धरान:जंगलको दाउरामा आश्रित परिवारलाई विकल्प दिने उद्देश्यले धरान १७ स्थित उदय सामुदायिक वन उपभोक्ता समुहले स्थानीय महिलाहरुलाई ५ दिने दुनापटरी बनाउने तामिल दिएको छ ।

दाउरा बिक्री गरेर जीवन गुजारा गर्नेहरुका लागि रोजगारी सृर्जना गर्ने एवं विकल्पमा स्वरोजगार तथा उद्यमी समेत बनाउने उद्देश्यले आधुनिक दुनाटपरी बनाउने तालिम दिएको समुहले जनाएको छ । धरान उपमहानरपालिकाको आर्थिक सहयोगमा असार ७ गतेदेखि तालिम ११ गतेसम्म उदय वनको हलमा आयोजना भएको थियो । तालिममा उदय सामुदायिक बनका १९ वटा उपसमितिबाट २ जना गरि ३९ जना महिलाहरु सहभागी भएको वन समुहका अध्यक्ष जसकुमार राईले जानकारी दिए । उनीहरुलाई धरान १४ की प्रशिक्षक शोभा पुलामी मगरले तालिम दिएकी थिइन् ।

जगलमा कुहेर जाने पातबाट दुनाटपरी बनाएर बिक्री गर्ने र विस्तारै महिलाहरुलाई नै उद्यमी बनाएर आर्थिकरुपमा सवलीकरण गर्ने उद्देश्य राखिएको अध्यक्ष राईले बताए । ‘यसले आम्दानी हुन्छ, र वन पनि जोगिन्छ,’अध्यक्ष राईले भने । महिलाहरुले पाएको सिपलाई बजारीकरण गर्न कार्यसमिति सधै लागिपर्ने बताउदै उनले महिलाहरुलाई उद्यम गर्नको लागि एउटा कोठा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

duna-taparii

तालिममा सहभागी गणेशकुमारी राईले तालिम पाएकोमा खुशी व्यक्त गर्दै दाउरा काट्नु भन्दा दुनाटपरी बनाएर नै आम्दानी भए सहज हुने बताइन् । उनले तालिम समापनमा बोल्दै महिलाहरुले बनाएको टपरीलाई बिक्री गराउन तथा बजारीकरण गर्न पनि सहयोग गर्नुपर्ने बताइन् । महिला संजालका अध्यक्ष सबिता राईले महिलाहरुले धेरै तालिम लिएपनि उद्यमी बन्न नसकिरहेको उल्लेख गर्दै स्थानीय सरकारले यसतर्फ बिशेष चासो दिनुपर्ने बताइन् । ‘तालिम मात्र दिएर हुदैन, यसको बजारिकरण गर्न र दिगोपन दिलाउन ठोस नीति बनाएर कार्यन्वयन पनि गर्नुपर्छ,’उनले भनिन् ।

उनले महिलाहरुले साना मझौला प्रकारका उद्योग घरमा बसेर पनि गर्न सक्ने धारणा राख्दै थोरै लगानीबाट धेरै आम्दानी लिन सक्ने उद्यम दुनाटपरी भएको पन बताइन् । गाउँघरमा आयोजना हुने सानातिन भोजभत्तेर, पुजापाठहरुमा कागजको र प्लाष्टिकको पेलेट चलाउनु भन्दा पनि पातको टपराहरु चलाउने बानी गर्नुपर्ने उनले बताइन् ।