ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शिक्षकको कुटाईबाट तीन छात्रा घाईते” शीर्षकको समाचार छापिएको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीस्थित सेतोगुराँस सेकेण्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् । शिक्षक ओझाले प्लाष्टिकको पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत चन्द्रकला मगर, विभूति शुब्बा र अस्मिता मगर घाइते भएका छन् । बुधबार कक्षा कोठामा विज्ञान विषयको प्रश्न सोध्नेक्रममा उत्तर नदिएपछि ३ छात्रालाई शिक्षक ओझाले शरीरका विभिन्न भागमा जथाभावी कुटपिट गरेको पीडित छात्राहरुले बताएका छन् । कुटपिटबाट छात्राहरुको पिँडुला, हात र पिठ्युँमा निलडाम रहेको छ । प्लाष्टिकको पाइपले कुटपिट गर्न थालेपछि आफुलाई उत्तर आएपनि डरले भन्न नसकेको घाइते छात्रा विभूतिले बताइन् । ओझाले विगतदेखि नै छात्र–छात्राहरुलाई कुटपिट गर्ने गरेको पीडित विद्यार्थीहरुले बताए । विहीबार विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षक ओझालाई कारबाहीको माग गरेका छन् । शिक्षकलाई निष्कासन, उपचार खर्च व्यहोर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

औजार : आजको औजार दैनिकमा “श्रीमानको विदेशमा निधन श्रीमतीको स्वदेशमा विचल्ली” शीर्षकको समाचार छापिएको छ । पैसा कमाउने सपना बाकेर विदेशिएका एक युवाको मलेसियामा मृत्यु भएको छ । सुनसरीको इनरुवा ९ बबियाका अन्नन शर्माको वैदेशिक रोजगारको क्रममा मलेसियामा यही असार ६ गते निधन भएको हो । श्रीमती सितादेवी खंग खत्वेलाई दुई नानीहरुको रेखदेख गर्न छाडेर शर्मा विदेश गएको १३ महिना नै विते । बुबा रतिलाल खत्वेसँग छुटिएर बसेका आनन्द श्रीमती र दुई छोराछोरीको भविष्यका लागि भन्दै रोजगारी गर्न मलेसिया पुगे । एक वर्षसम्म राम्रो रकम कमाएर पठाउनुभयो तर, दुई महिनादेखि पैसा पठाउन छाडेपछि चिन्तामा डुबेकी सिताले कहिले नफर्किने गरी पती निधन भएको खबर असार १० गते सुनेर मुर्छित बनिन् । उनले श्रीमानको कमाइबाट स्वदेशमा आफ्नो घरखर्च चलाउने र आगामीवर्षदेखि छोराछोरीलाई विद्यालयमा भर्ना गर्ने सपना सोचेकोमा सो सपना चकनाचुर भएको दुःखेसो सुनाईन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “दुर्गममा जादैनन् कर्मचारी” शीर्षकको समाचार छापिएको छ । संखुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । गाउँपालिकाका पाँच वटा वडाका ६ हजार ५ सय ७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयबासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भएपनि पाँच वटा वडा एक्लैले भयाउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताए । अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाई छ । लामाका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन । भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल , नायवसुब्बा (वडासचिव र कृषि शाखा प्रमुख), खरिदार खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । सो गाउँपालिकामा २७ जनाको दरबन्दी छ । तर, पाँच जना मात्र हुँदा सेवप्रवाहमा समस्या हुने गरेको छ ।