धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा प्रवेश गर्ने गेटमा लागेको तालाबन्दी तीन दिनभित्र खोल्न धरानको वडा नं १८ कार्यालयले आग्रह गरेको छ ।

वडा अध्यक्ष प्रविण राईले बिहिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै तीन दिनभित्र तालाबन्दी नखोले १८ नम्बर वडा कार्यालय र वडाबासी कानुनी उपचार खोज्ने पनि चेतावनी दिएका छन् । अध्यक्ष राईले शैक्षिक वातावरण गुणस्तरीय र राम्रो बनाउने जिम्मा लिएका पदाधिकारीको पनि ध्यानाकर्षण गराएका छन् । साथै, अवैधानिक, नियम विपरीत बन्द हडताल गर्ने विद्यार्थीहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरिएको छ । ‘प्रतिष्ठानमा भइरहेको अराजक गतिविधिको अन्त्य गर्दै बिहिबार भएको शिक्षाध्यक्ष र उपकुलपतिको कार्यालयमा भएको तालाबन्दी हटाउन हामी वडाबासी जोडदार माग गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।

press 3

स्वास्थ्य र शिक्षाको उत्तम थलो प्रतिष्ठानलाई केही चिकित्सक तथा पदाधिकारीहरुको जुँगाको लडाईले धरासायी बन्नपुगेको भन्दै अध्यक्ष राईले जारी गरेको विज्ञप्तीमा केही व्यक्तिहरुको उक्साहटमा यहाँका जुनियर रेसिडेन्टहरुले एमडी/एमएस विद्यार्थीको कोटाको बिषयलाई लिएर अनावश्यकरुपमा तालाबन्दी गरेको पनि उल्लेख छ । प्रतिष्ठानले स्नातकोत्तर तह एमडी/एमएसको बिषयगत सिटमा एक तिहाई मात्र विदेशीलाई कोटा उपलब्ध गराउनुपर्नेमा राष्ट्रिय चिकित्सक शिक्षा ऐन २०७५ विपरीत धेरै कोटा छुट्याएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बिहिबार उपकुलपति र शिक्षाध्यक्षको कार्यालय प्रवेश गर्ने मुलगेटमा तालाबन्दी गरेको थियो ।