धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारले एकअर्कालाई विश्वास गरेर मात्र गन्तव्यमा पुग्न सकिने बताएका छन् ।

१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले शुक्रबार धरानमा आयोजना गरेको वृहत सडक सभ्यता अभिवृति एवं सवारी दुर्घटना न्युनीकरण सम्बन्धी ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको सम्मेलनमा मुख्यमन्त्री राईले यो धारणा व्यक्त गरेका हुन् । उनी भन्दा अघिका स्थानीय सरकार(तह)का प्रमुखहरुले प्रदेश सरकारप्रति भर नभएको जस्ता टिप्पणी गरेपछि प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राईले तीनै तहका सरकारबीच एकले अर्कालाई विश्वास गरेर मात्र समृद्ध, विकसित मुलुक बनाउने लक्ष्य र गन्तव्यमा पुग्न सकिने बताएका हुन् ।

मुख्यमन्त्री राईले संघीय प्रणालीमा ३ तहको सरकार आफुखुशी गर्नलाई नबनाएको पनि प्रष्ट पारे । उनले भने,‘तीन जतहको सरकार आफुखुशी गरिखाउ भनेर बनाइएको होइन । सवल, समृद्ध राष्ट्र बनाउनलाई हो । एउटै उद्देश्यको लागि एउटै लयमा हिड्नपर्छ । एकले अर्कालाई विश्वास गर्नुपर्छ, र मात्र हामी गन्तव्यमा पुग्न सक्छौं, लक्ष्य भेट्नसक्छौं ।’

IMG_9016

मुख्यमन्त्री राईले प्रदेश सरकारले संघीय प्रणालीलाई दौडाउन चाहेपनि थुप्रै आधारहरु अझै निर्माणको क्रममा भएको तर पनि सही ट्रयाकमा हिडिरहेको जिकिर गरे । संघीय प्रणाली धिमा गतिमा भएपनि ठिक ठाउँमा पाइला चलिरहेको उनको भनाई थियो । नागरिकको जीवन रक्षाको लागि प्रदेशका ६ जिल्लामा १०÷१० किलोमिटरमा सडक सुशासनको अभ्यासन गराउन डिपिआर तयार भइरहेको बताउदै मुख्यमन्त्री राईले अहिलेको भद्रगोल, असुरक्षित सडकलाई व्यवस्थित र सुरक्षित बनाइने पनि बताए । सडकको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तहको जिम्मा लगाइने र त्यसले थप व्यवस्थित हुने उनको भनाई थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले २०७२ सालको भुकम्प पछि प्राकृतिक प्रकोपभन्दा बढी सडक दुर्घटनाबाट मान्छेको ज्यान गएको तथ्यांक प्रस्ततु गर्दै सबै नागरिक आफै सचेत भएमा दुर्घटना कम हुने बताए । प्रदेश सरकार बनेको मात्र डेढ बर्ष पुगेको भन्दै मन्त्री कार्कीले स्थानीय तहसँग सहकार्य गर्न हरसम्भव प्रयास गरिरहेको बताए । उनले पनि प्रदेशको सबै सडक सुशासनयुक्त बनाउने प्रतिवद्धता जनाए । सगरमाथा टिन्स क्लबमार्फत प्रदेशको २ हजार विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध र सडक दुर्घटना न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम प्रदेश सरकारले अघि बढाइरहेको मन्त्री कार्कीले जानकारी दिए ।

अनावश्यक रुट परमिटले समस्या

IMG_9014

कार्यक्रममा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले यातायतले सहर र सडकको क्षमता मुल्यांकन नगरी जथाभावी सवारीसाधनलाई रुट परमिट दिने गरेको कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको बताइन् । सडक दुर्घटना बढ्नुमा यो मुख्य कारण भएको उनको भनाई थियो ।

भण्डारीले धरानमा तीन पांग्रे सवारी २ हजारको संख्या भएको भन्दै जति पनि परमिट दिने र लाइसेन्स विना चलाउने सवारीसाधनलाई कडाई गर्न आवश्यक भएको बताइन् । साथै, उनले सडक जताततै खाल्डो परेको भएपनि स्थानीय तहले क्षेत्राधिकारकको कारण पुर्न नसकेको बताइन् । सडक विभागले आफ्नो जिम्मेवारी पुरा नगर्दा स्थानीय तहले जनताबाट गाली खाइरहनु परेको उनले बताइन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले पनि दुर्घटना हुने कारणहरुको खोजी नगरी चालकलाई मात्र दोष दिन नहुने बताए । सडकको दुरावस्था, छाडा चौपाय, सडक मिचेर लाग्ने हाट बजारलगायतको व्यवस्थापन गर्नुपर्ने निकायहरु सडक विभाग र यातायात व्यवस्था कार्यालय आफ्नो जिम्मेवारीबाट पन्छिदा धेरै दुर्घटना हुने गरेको सुवेदीले बताए । यातायातलाई सडकको दायित्व पुरा नगर्ने हो भने यातायात व्यवस्था कार्यालय भन्ने नाम परिवर्तन गर्न पनि उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नागरिक सरोकार तथा अनुगमन मञ्च धरानका अध्यक्ष तिलक राईले पनि सडक सुरक्षित बनाउन सडकको गुणस्तर र क्षमता विस्तार गर्नुपर्ने बताए ।

IMG_8967

१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले सडक सुरक्षित र अनुशासित बनाउन तथा दुर्घटना न्युनीकरणमा सबै सरोकारवालाहरुको भुमिका, सहकार्य खाँचो रहेको बताए । प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा औपचारिक कार्यक्रम हुनुअघि वृहत जनचेतनामुलक र्यालीसमेत आयोजना भएको थियो । ब्याण्ड बाजासहित आयोजित र्यालीमा आदिबासी जनजाति, विद्यालयहरु, महिला सञ्जाल, विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

IMG_8974 IMG_8984 IMG_8986