विराटनगर: प्रदेश नं १ को मन्त्रीपरिषद बैठक आज दिउँसो २ बजे सम्पन्न भएको छ । मुख्ममन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगरमा सम्पन्न बैठकले एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री शेरधन राई अमेरिका जाने प्रस्ताव स्वीकृत गरेको छ ।

मन्त्रीपरषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री राई जुलाई ५, ६ र ७ तारिखमा अमेरिकाको बाल्टिमोरमा हुने नेप्लिज एशोसिएशन इन अमेरिकाको नेशनल कन्फरेन्समा प्रमुख अतिथि भएर जान लागेको जानकारी दिए । सोही कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राई असार १६ गते अमेरिका प्रस्थान गर्नेछन् भने २५ गते नेपाल फर्कने मन्त्री कार्कीले जानकारी दिए ।

आजको मन्त्रीपरिषद बैठकले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिरकण विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रदेश लोकसेवा आयोग विधेयक २०७६ लाई पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं मन्त्री कार्कीले जानकारी दिए । 'यस्तै, अर्को महत्वपुर्ण निर्णय समिटर समिट आयोजना गर्ने सम्बन्धमा भएको पनि मन्त्री कार्कीले बताए । मन्त्रीपरिषदले औपचारिक प्रक्रिया अघि बढाउन निर्णय गरेको छ, र मुख्यमन्त्रीको नेतृत्वमा तयारी समिति गठन गर्ने निर्णय गरेको छ,'मन्त्री कार्कीले भने ।

यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा अघि सारिएको प्रदेश जाँचबुझ तथा अनुसनधान आयोग विधेयक २०७६ लाई पनि सो मन्त्रीपरिषद बैठकले प्रदेशसभामा पेश गर्नलाई अनुमति प्रदान गरेको छ । त्यस्तै, प्रदेश स्वायत्त संघसंस्था गठन विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्ने स्वीकृति प्रदान गरिएको छ भने कटहरी फलफुल तथा तरकारी थोक बजार सञ्चालन नियमावली २०७६ स्वीकृति गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए ।

'यस्तै, एक महिनाअघि पाँचथर जिल्लामा भएको दुःखद हत्याकाण्डमा बचेकी किसोरी सिता खजुमको उपचारमा लागेको सम्पुर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय अनुसार अनुसार हामीलाई प्राप्त भएको विल ६९ हजार ३ सय १४ रुपैयाका सबै प्रदेश सरकारले तिर्ने निर्णय गरेका छौं,'मन्त्री कार्कीले भने,'सगरमाथा टिन्स क्लब(एसटिसि) हरेक विद्यालयमा सञ्चालन गर्ने गरी आवश्यक पर्ने कार्यविधि २०७६ लाई पनि मन्त्रीपरिषदले स्वीकृति गरेको छ । '

तस्बिर क्याप्सन:मन्त्रीपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ।