धरान: सुनसरी जिल्ला नकआउट फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी विजयी हुदै सेमिफाइनमा प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा शुक्रबार भएको खेलमा जागृति क्लबले दुहबीको गोल्डेन स्टार क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्न नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा राष्ट्रिय जागृतिक ातर्फबाट विजय राई, मनिष भण्डारी, जोसन राई, निकेश तामाङ र मणिन्द्र याक्खाले गोल गरेका थिए । गोल्डेन स्टारतर्फबाट धिरज चौधरी, प्रेम पासवान, धनकुमार चौधरी र अनिल चौधरीले मात्र गोल गरे । गोल्डेनका सुरज माझीको प्रहार बाहिरिएको थियो । खेलको म्यानअफ द म्याच इटहरीका जोशन राई घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दुहबीको इलाभेन एरोज र गोधुली क्लब धरानबीचको खेल समय अपुग भएपछि स्थगन भएको छ । स्थगन भएको खेल शनिबार दिउँसो हुने भएको छ । शनिबार धरानको टेम्के–११ र धरान फुटबल क्लबबीच सेमिफाइनलको खेल हुने आयोजक एन्फा सुनसरीले जनाएको छ । प्रतियोगितामा सुनसरीका ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले कोशी क्षेत्र अन्तर्गत सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका जिल्ला विजेताहरुसँग लिग खेल्नेछ । लिगको विजेताले एक नं. प्रदेश मुख्यमन्त्री लिग खेल्ने मौकापाउनेछ भने राष्टिूय लिग छनौट खेल्ने मौका समेत पाउनेछ ।