सुनसरी : इटहरीकी उपमेयर लक्ष्मी गौतमले उद्योग वाणिज्य संघ इटहरीको साधारणसभा उद्घाटनमा आफुले जनताको छोराछोरीको नागरिकता सिफारिश रोकिदिन्छु भन्ने अभिव्यक्ति नदिएको प्रष्टीकरण दिएकी छिन् ।

उपमेयर गौतमले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चुनावी प्रयोजनको लागि उम्मेदवारले पैसा तिरेर व्यवसाय दर्ता गरेर सदस्य बनाइएकाहरुलाई हरेक बर्ष तिर्नुपर्ने कर तिर्न नसक्दा छोराछोरीको नागरिकता सिफारिश रोकिनसक्ने भएकोले भविष्यमा आइपर्ने समस्याको वास्तविकता बताउन मात्र चाहेको खुलाएकी छिन् । ‘चुनावको प्रयोजनको लागि उम्मेदवारले जर्बजस्ती व्यवसायी बनाएका न्युन आय भएका व्यक्तिहरुले सालसालै नगरपालिका र राजश्व कार्यालयलाई कसरी कर बुझाउन सक्छन् ? त्यो अनावश्यक थोपरिएको कर कसले बुझाउने हो ? करको ठुलो आकारको कारणले उनीहरुको छोराछोरीको नागरिकता सिफारिश रोकिने अवस्था आउछ कि आउदैन ?’ विज्ञप्तीमा भनिएको छ,‘मैले भोली आउने वास्तविक समस्याको बारेमा यथार्थ बताउन चाहेको मात्रै हो ।’

press-relese

यस्तै, उनले आफुले कुनै उम्मेदवारलाई मत दिन वा नदिन नभनेको पनि जिकिर गरेकी छिन् । आफुले बोलिरहदा एकाध व्यक्तिहरुले हल्ला गरेको भन्दै विज्ञप्तीमा उपमेयर गौतमले आफुले बोलेको बिषयमा त्यहाँ उपस्थित वास्तविक उद्योगी, व्यवसायी, व्यापारीहरुले कुनै असन्तुष्टी नजनाएको पनि दाबी गरेकी छिन् । साथै, जे बोलिएको हो, त्यस सन्दर्भमा आफु पुर्णरुपले विश्वस्त र जिम्मेवार भएको पनि उनले विज्ञप्तीमा जनाएकी छिन् । उनले आफुले बोल्दै नबोलेको कुरालाई सम्प्रेषण भएको पनि दाबी गरेकी छिन् ।