ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पाँचथरमा पहिरो पीडितलाई राहत वितरण” शीर्षकको समाचार छापिएको छ । याङ्वरक गाउँपालिका २ फलैंचामा गएको पहिरोबाट विस्थापित हुन पुगेको २१ घरपरिवारलाई विहीबार राहत वितरण गरिएको छ । उनीहरुलाई सोही वडाको तिम्तिम्बुमा पुगेर राहत वितरण गरिएको राहत वितरण टोलीले जनाएको छ । पहिरो पीडितहरुलाई पाल, चामल, चिउरा, चाउचाउ, विस्कुटलगायतका राहत सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । पहिरो पीडितलाई रेडक्रस, पाँचथर उद्योग वाणिज्य संघ र गाउँपालिकाले संयुक्त रुपमा पहिलो चरणको राहत वितरण गरेका हुन् । पहिरोका कारण बेतेनी, मुक्लाबु, चिङ्मा, सेपी, गङ्गावा र धिमाले गाउँ प्रभावित भएका हुन् ।

औजार : आजको औजार दैनिकमा “गफमा मस्त शिक्षक रमिते विद्यार्थी” शीर्षकको समाचार छापिएको छ । सदरमुकामको विद्यालय भन्ने वित्तिकै सबैलाई राम्रो, सुविधासम्पन्न, नियमित पठनपाठन हुने, शिक्षकहर अनुशासित रहेको र अनुगमन नियमित भइरहेको ठान्छौ तर त्यही सदरमुकामको विद्यालयमा त्यस्तो भेटिएन । एकै ठाउँमा ५ जना शिक्षक र १० जना विद्यार्थी त्यो पनि मन्दिरको वरीपरि सुन्दा सुन्दा अचम्म लाग्न सक्छ । यो अचम्मको कुरा नभई सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा रहेको सरस्वती माविका शिक्षकहरुले यस्तै गरेको फेला परेको छ । विद्यालयलाई शिक्षाको मन्दिर भनि सबैले विश्वास गर्छन् तर त्यही विद्यालयमा कक्षामै सुत्ने, खैनी चुरोट र पान खाने, एकै ठाउँमा धेरै कक्षाका विद्यार्थीहरु राखेर शिक्षकहरु ग्फ छाटेर बस्ने कारणले विद्यार्थीलाई अन्याय समेत भएको सरस्वती मावि बबियाका विद्यालय व्यवस्थापन समितिका सदस्य महेन्द्र सरदारले गुनासो गरे । विद्यालयको विषयमा धेरै पटक गुनासो आएकाले शिक्षकहरु के गर्छन् भन्ने यथार्थ जान्ने प्रयास गर्दा शैक्षिक उपलब्धि गर्नु भन्दा शिक्षकहरु आफ्नै धुनमा व्यस्त रहेको पाइएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रदेश २ सरकारमाथि विभेदको आरोप” शीर्षकको समाचार छापिएको छ । सहिद तथा आन्दोलनका घाइते परिवारका लागि प्रदेश २ सरकारले ल्याएको उन्नत जातको भैसी वितरणकार्यक्रमले पूर्णता नपाउँदै विवादमा तानिएको छ । तत्कालिन माओवादीको सशस्त्र दन्द्ध र जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारले प्रदेश २ सरकारले सहिद र घोइत परिवारका लागि ल्याएको भैंसी वितरण योजनालगायत अन्य सेवासुविधामा समेत आफुहरुसंग विभेद गरिरहेको आरोप लगाएका छन् । प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सहिद तथा घाइते परिवारलाई लक्षित गरी उन्नत जातको गाईभैंसी वितरण गर्ने कार्यक्रम ल्याएको हो । यद्यपि उक्त कार्यमा प्रदेश सरकारले आफुहरुसंग चरम विभेद गरेको जनयुद्धका सहिद, बेपत्ता एवम् घाइने परिवारको गुनासो छ ।