धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र रेक्टर कार्यालयमा लागेको तालाबन्दी खुलेको छ ।

आज बिहान प्रतिष्ठान पदाधिकारी र आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएपछि केही बेर अघि तालाबन्दी खुलेको हो । सहमति अनुसार एमडि एमएसतर्फ नेपाली विद्यार्थीहरुको लागि ३ वटा सिट बृद्धि भएको छ । जेआर र प्रतिष्ठान व्यवस्थापनबीच सर्जरी, पेडियाट्रिक र इन्टरनल मेडिसिनमा नेपाली विदेशी कोटाबाट एक एक वटा सिट कम गरेर नेपाली विद्यार्थीलाई दिने(समायोजन) गर्ने सहमति भएको छ ।

यसअघि, इन्टरनल मेडिसिनको कुल ५ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई २ वटा कोटा भएको छ भने पेडियाट्रिकमा कुल ५ सिटमध्ये नेपालीलाई ३ वटा र विदेशीलाई २ वटा कोटा दिइने भएको छ । यस्तै, इन्टरनल मेडिसिनको कुल ६ सिटमध्ये ३ वटा नेपाली र ३ वटा कोटा विदेशीलाई दिइने भएको छ । यसअघि, सर्जरीमा ४ वटा विदेशी र २ वटा नेपालीलाई छुट्याइएको थियो भने पेडियाट्रिकमा पनि २ वटा नेपाली र ३ वटा विदेशीलाई छुट्याइएको थियो । यस्तै, इन्टरनल मेडिसिनमा ४ वटा विदेशी र २ वटा नेपालीलाई छुट्याइएको थियो ।

यस्तै, समायोजन भएको सिट संख्याको क्याटोगोरी अनुसारको विभाजन सम्बन्धी सुचना काउन्सिलिंग पुर्व नै प्रकाशित गर्ने पनि सहमति भएको छ । यस्तै, विदेशी कोटामा सिट बाँडफाट सम्बन्धी प्रतिष्ठानको २०१५देखिको प्रवेश परीक्षा कार्यविधि संशोधन गर्दा नेपाली विद्यार्थीहरुलाई कम्तीमा ५० प्रतिशत सिट हुने गरी कार्यविधि संशोधन गर्ने, स्नातकोत्तर तहको सिट प्रतिष्ठानद्धारा आफ्नो क्षमताका साथ सञ्चालन गर्नुपर्नेलगायतको सहमति पनि भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको व्यवस्था विपरीत एक तिहाई भन्दा बढी विदेशी कोटामा सिट संख्या छुट्याएर विदेशी विद्यार्थीहरुलाई ग्राहयता दिइएको भन्दै जुनियर रेसिडेन्टहरु आन्दोलित भएका थिए । उनीहरुले बिहिबारदेखि तालाबन्दी गरेर धर्नामा बसेका थिए । तालाबन्दी खुलाउन शुक्रबार प्रारम्भिक चरणको वार्ता भएको थियो भने शनिबार राती अबेरसम्म पटक पटक वार्ता भएको थियो । सहमतिको ड्राफ्ट शनिबार राती नै तयार भएपनि हस्ताक्षर भने आज बिहान मात्र भएको हो । प्रतिष्ठानले भने सरकारले चिकित्सक, नर्स र कर्मचारीहरु कसैको पनि तलब, भत्तासहित सञ्चालन खर्च उपलब्ध नगराउने भएकोले आम्दानीको स्रोत विदेशी विद्यार्थी भर्ना गर्न बाध्य हुनुपरेको जनाउदै आएको छ । एमडि एमएसमा नेपाली विद्यार्थीहरुलाई भने निःशुल्क पढ्न पाउछन् ।