सैन्य शासनको विरोध गर्दै सुडानमा भएको प्रदर्शनका क्रममा सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजधानी खार्तुममा सैन्य शासनको विरोध गर्दै भएको प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा १ सय ८१ जना घाइते भएका छन् । राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर गर्ने क्रममा सेनाले कयौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै गोली प्रहारसमेत गरेको थियो ।

गत जुन ३ तारिखमा राजधानी खार्तुममा भएको प्रदर्शनपछी भएको यो नै दोस्रो बिशाल प्रदर्शन हो । प्रदर्शनमा १० लाख मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले सैनिक शासन आफूहरुलाई मान्य नहुने भन्दै नागरिक शासन लागू गर्न माग गरेका छन् ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।