धरान: मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत क्षेत्र २ को प्रतियोगिता मंगलबारदेखि धरानमा शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र १ नम्बर प्रदेश सरकारको व्यवस्थापनमा धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा भोलीदेखि शुरु हुने भएको हो । असार २२ गतेसम्म चल्ने प्रतियोगिता सुनसरीसहित ५ जिल्लाको सहभागीता रहने एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष एबंम प्रतियोगिताका सल्लाहकार किशोर राईका अनुसार प्रतियोगितामा धनकुटाको बौद्धिक विकास समिति, तेह्रथुमको तेह्रथुम जिल्ला फुटबल संघ, संखुवासभाको मिरमिरे यूवा क्लव, भोजपुुरको कोदार फुटबल क्लव हुनेछ भने सुनसरीको धरान फुबटल क्लव र इटहरीको राजा क्लबबीचको विजेताले भिड्ने छन् ।

प्रतियोगितामा जिल्लामा क्लव नभएको अवस्थामा पनि संघबाट भएपनि सहभागी गराएको राईले बताए । ‘प्रदेश लिग प्रतियोगितामा जिल्लामा फुटबल क्लव नै नभएको अवस्था पनि छ, जस्तो तेह्रथुमले जिल्ला फुटबल संघबाट सहभागीता जनाउदैछ,’उनले भने,‘अन्य बाँकी ४ वटा जिल्लाबाट जिल्लाको नेतृत्वमा क्लवले नै सहभागीता जनाउछ ।’ सुनसरीबाट जिल्ला लिगको फाइनल पुगेका धरान फुटबल क्लव र राष्ट्रिय जागृति क्लव इटहरीले क्षेत्र नं २ को छनौटमा सहभागीता जनाउनेछन् । जिल्ला लिग अन्तर्गत आज सोमबार यी दुवै क्लबीच धरान १६ स्थित रंगशालामा फाइनल हुदैछ ।

भोली मंगलबार हुने उद्घाटन खेल तेह्रथुम र धनकुटाको क्लवबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, बन तथा बातावरणमन्त्री जगदिश प्रशाद कुसियले गर्ने कार्यक्रम तय भएको आयोजक एन्फाले जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजनाको लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको एन्फाले जनाएको छ ।

प्रतियोगितामा प्रदेश १ का १४ जिल्ला मध्ये इलाम, सुनसरीको धरान र उदयपुरको गाइघाटलाई क्षेत्र तोकिएको एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष राईले बताए । उनका अनुसार १ नम्बर क्षेत्र इलाममा ४ वटा जिल्ला, क्षेत्र २ धरानमा ५ जिल्ला र क्षेत्र ३ गाइघाटमा ५ जिल्ला सहभागी गराइएको छ । क्षेत्र १ इलाममा इलामसहित ताप्लेजुङ, पाँचथर र झापा सहभागी हुदैछन । यस्तै, उदयपुरको गाइघाटमा उदयपुरसहित ओखलढुङगा, सोलुखुम्बु, खोटाङ र मोरङ भिड्दै छन् । क्षेत्र ३ को गाइघाटमा सोमबार(आज)देखि प्रतियोगिता शुरु हुदै छ भने क्षेत्र १ को इलाममा आउदो बुधबारदेखि शुरु हुदैछ ।

अंकका आधारमा ३ वटा क्षेत्रबाट २–२ वटा टिम गरी जम्मा ६ वटा टिम छनौट हुनेछन् । ‘अंकका आधारमा प्रत्येक क्षेत्र जस्तो धरानबाट २ वटा टिम, इलामबाट २ वटा टिम र गाइघाटबाट २ वटा टिम छनौट हुन्छन्’ एन्फा मानार्थ उपाध्यक्ष राईल भने,‘छनौट भएका ६ वटा टिमले फेरी असार २५ गते विराटनगरमा हुने प्रदेश लिगको अन्तिम छनौट प्रतिस्पर्धा गर्नुपर्छ, अनि अंकका आधारमा अन्तिम छनौट गछौं ।’

tiesheet

एन्फा प्रेसिडेण्ट कपमा भाग लिन अन्य प्रदेशबाट प्रदेश लिग विजेता एक–एक वटा टिमले सहभागी हुन पाउने भएपनि प्रदेश १ बाट लिग विजेता दुई वटा टिमले सहभागीता जनाउने एन्फाले जनाएको छ । ‘एन्फा प्रेसिडेण्ट कपमा प्रदेश १ बाहेक अन्य प्रदेशले एक–एक टिमलाई सहभागी गराउछौं,’एन्फा मानार्थ बरिष्ट उपाध्यक्ष राईले भने,‘तर, प्रदेश १ मा फुटबलको क्रेज राम्रो भएकोले अंकका आधारमा २ वटा टिमले भाग लिन पाउछन्, त्यसैले जम्मा ८ टिमको म्याच खेलाउछौं ।’

क्षेत्र २ को धरानमा हुने मुख्यमन्त्री प्रदेश लिगको प्रतियोगितालाई चुस्त बनाउनको विभिन्न क्षेत्रमा समितिको संयोजक समेत तोकिएको छ । समितिको ग्राउण्ड व्यवस्थापन समितिको संयोजकमा एन्फाका सदस्य नविन राई, सुरक्षा तथा स्वंयम सेबक व्यवस्थापन समितिको संयोजकमा लक्ष्मण बस्नेत, प्रचार प्रसार समितिको संयोजकमा प्रताप तामाङ, अनुशासन समितिको संयोजकमा घनश्याम बुढाथोकी र खाना तथा बस्ने व्यवस्थापन समितिको संयोजकमा गोपाल कार्कीलाई तोकिएको आयोजकले जनाएको छ ।