इटहरी: बजारमा बिक्री भइरहेको फलफूल खाँदा सतर्क हुनुपर्ने एक घटनाले देखाएको छ । फलफूल चाडो पकाउन अत्यधिक बिषादी प्रयोग हुने गरेको कारण स्वास्थ्यलाई प्रतिकुल असर हुने देखिएकोले सतर्क हुनुपर्ने अवस्था आएको हो ।

रुखकटहर खाँदा इटहरी २० तरहराका १० जना मानिसहरु बिरामी भएका छन् । बिरामी हुनेमा स्थानीय ७७ बर्षीया नर्बदा रेग्मी, ५४ बर्षीया सीता सुवेदी, ७० बर्षीया साबित्रा चौलागाईँ, ४९ बर्षीय कुमार पोखरेल, ४५ बर्षीया कमला रेग्मी, २४ बर्षीय विशाल रेग्मी, १७ बर्षीय सुमन रेग्मी, १३ बर्षीया प्रकृति चौलागाईँ, ११ बर्षीय साईमन रेग्मी, १० बर्षीया साईमना रेग्मी रहेका छन् । बजारबाट किनेर ल्याएको कटहर खादा विरामी परेको पीडितहरुले बताएका छन् । पीडितहरुको नोबेल अस्पताल बिराटनगर र स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय पर्शुराम रेग्मीका अनुसार स्थानीय सरकारले कानमा तेल हालेर बसेको बताए । ‘हामीले स्थानीय सरकारलाई पनि पटक–पटक जानकारी गरायौँ, तर सरकारले चासो नै दिएन, हाम्रो घरका मात्र नभई अन्य मानिसहरुलाई आगामी दिनमा बिरामी नहुन् भन्ने उदेश्यले सचेतना गराउन खोजेका हौं,’ उनले भने । उनका अनुसार सरकारले बजार अनुगमन गर्नुपर्नेमा जोड दिए । प्रहरी प्रशासन र सम्बन्धित सरोकारवाला निकायले पनि बजार अनुगमन गरी बिषादीयुक्त खानेकुराको डिष्पोज गर्नुपर्ने र बिषादी प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने रेग्मीले बताए ।

खाद्य ऐन २०४९ अनुसार सर्बसाधारणको स्वास्थ्य, कालोबजारी र खाद्य पदार्थ मिसावट गर्नेलाई दण्ड सजायको साथै क्षतिपूर्ति दायित्व बहान गर्ने व्यवस्था गरेको छ । तर, खाद्य पदार्थमा सर्वसाधारणको ज्यान नै जानेगरी बिषादी मिसावट प्रयोग गर्नु अत्यन्त निन्दनीय रहेको स्थानीय जगनाथ रेग्मी बताउँछन् । उनले भने, ‘हामीले एकसातासम्म बिरामीलाई अस्पतालमा राख्दा समेत ठीक भएको छैन, बिषादी प्रयोग गर्ने मानिसलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ उनले बजार अनुगमन नै नगर्ने र गरेपनि सूचना दिएर बजार अनुगमन गर्दा बिषादी प्रयोग गरिएको सामान व्यापारी हरुले लुकाउने गरेको तर्क गरे ।

बिषादी प्रयोग गरिएको फलफूल र खानेकुरा खाँदा अन्य मानिसलाई पनि असर पर्ने भएकाले आँफूहरुले सचेत गराउनका लागि पटक–पटक सूचित गर्दा पनि कारबाही नभएकोप्रति आपत्ती जनाए । यता इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने आँफूले इटहरी उपमहानगरपालिकामा जानकारी गराइसकिएको बताए । उनले भने,‘मैले मेयर साबलाई जानकारी गराइसकेको छु, अब कारबाहीको दायरका लागि हामी कदम चालिरहेका छौँ ।’ उनका अनुसार खाद्य विभागले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएकाले आँफूहरु त्यसका लागि प्रक्रिया चाल्ने बताए ।