इटहरी:इटहरी–२०, तरहरामा रहेको एक सपिङ सेन्टरमा चोरी भएको छ । शनिबार राती यहाँको चाँदनी सपिङ सेन्टरमा चोरी भएको हो ।

सपिङ सेन्टर सञ्चालक योगेन्द्र सुवेदीका अनुसार शनिबार राती १२ बजेर ३८ मिनेटको समयमा चोरी भएको सीसी क्यामेराको फुटेजमा देखिन्छ । ‘यहाँको रेड लेबल, ब्याक चिम्नी, वल्ड दरबार, वाइन, पफर््युम, खेलौना लगायत ४८ हजार बराबरको सामान चोरी भयो,’सुवेदीले भने,‘गत साल पनि चेनगेट फोरेर चोरी भएको थियो, प्रहरीले केही पत्ता लगाएन, यो पटक पनि मुचुल्का लगेको छ, मुचुल्कामा मात्र सीमित हुन्छ होला ।’ उनले प्रहरीले अनुसन्धान तथा कारबाहीमा फितलोपना देखाएको आरोप लगाए ।

‘चोरी भएको रातबाट यो बाटो प्रहरी हिडेकै छैन, प्रहरीलाई मन्त्रीको स्कटिङमा हिड्लै फुर्सद छैन, हामी जनतालाई सुरक्षा नै छैन,’उनले भने । प्रहरीले जनताको सुरक्षाप्रति गम्भीरता नदेखाएको उनको आरोप छ । चोरी भएलगत्तै तरहराको प्रहरी चौकीमा उजुरी दिएको भएपनि मुचुल्का मात्र उठाएर लगेको उनको भनाई थियो । सीसी क्यामेरामा एकजना मानिस आएर बत्ती निभाएको र चेन गेट फोरेर अर्को ढोका फुटाएको देखिन्छ । बत्ती निभाएपछि हेलमेट लगाएर भित्र छिरेको सीसी क्यामेराको फुटेजमा देखिन्छ । सीसी क्यामेराको फुटेजमा एकजनाले मात्र चोरी गरिएको देखिएपनि ग्याङ नै आएर चोरी गरिएको हुन सक्ने सुवेदी बताउँछन् ।

झोला भिरेर हेल्मेट लगाएको एकजना मानिसले मोबाईल बालेर पसलको सबैतिर हेरेपछि सीसी क्यामेराको तार झिकेको देखिन्छ । सीसी क्यामेराको तार र कम्प्युटरको माउस खुस्काएर चोरी भएको छ । ‘सीसी क्यामेराको तार र माउस पनि चोरी भयो, प्रहरीले कस्तो खालको अनुसन्धान गर्छ ?’ सुवेदीले प्रश्न गरे ।
उनका अनुसार गत बर्षको असार ९ गते पनि सोही पसलमा चेनगेट फुटाएर ५९ हजार बराबरको नगद र सामान चोरी भएको थियो । उक्त घटनामा संलग्नलाई पनि प्रहरीले पक्राउ गरी कारबाही नगरेकोप्रति व्यापारीहरु असुरक्षित रहेको स्वयम् व्यापारीहरु बताउँछन् ।

यता, तरहरा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बुद्धिमान चोम्वाङ (लिम्बु) का अनुसार आँफूहरुले खोजी गरिरहेको बताए । उनले भने, ‘म आको भोलिपल्ट भएको केस हो यो, हामीले व्यापक खोजी गरिरहेका छौँ, पक्रिने प्रयास गरिरहेका छौँ ।’ उनका अनुसार आँफूहरुले खोजी कार्य गरेको र अपराधीलाई कारबाहीको दायरामा ल्याउने जिकिर गरे ।