काठमाडौं: न्याय परिषद बैठकले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा विवादमा मुछिएका विराटनगर उच्च अदालतका न्यायाधीशलाई बर्खास्त गरेको छ ।

सोमबार न्याय परिषद्को बैठकले न्यायाधशि उमेश सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको बताइएको छ । न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको परिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायाधीश सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सिंहसँगै विराटनगर उच्च अदालतका न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटालाई पनि कारवाही गरिएको कार्कीले जानकारी दिए । उनीहरूको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय परिषदले गरेको छ ।

यस अघि कारवाही किन नगर्ने भन्ने स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो स्पष्टीकरण नभएपछि कारवाही गरिएको जनाएको छ । परिषदको बैठकले विराटनगर उच्च अदालतकै दुई न्यायाधीश उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई सफाइ दिएको छ । उनीहरु अवकास पाइसकेका छन् ।

साढे ३३ किलो सुन तस्करी र सनम हत्या मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका अभियुक्तलाई विराटनगर उच्च अदालतले धरौटी र तारेखमा थुनामुक्त गरेको थियो । यसको चर्को विरोध हुनुका साथै न्याय परिषदमा न्यायाधीशविरुद्ध उजुरी परेको थियो । उजुरी परेपछि न्याय परिषद्का अध्यक्षसमेत रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले छानविन सुरू गरेका थिए।