धरान: मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत क्षेत्र २ को प्रतियोगिता मंगलबारदेखि धरानमा शुरु भएको छ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा मंगलबार प्रतियोगिताको उद्घाटन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले गरेका थिए । मंगलबार भएको दुवै खेल बराबरीमा टुंगिए पछि ४ जिल्लाले एक एक अंक बाँडेका छन् । धनकुटाको बौद्धिक विकास समिति र तेह्रथुम जिल्ला फुटबल संघबीच भएको पहिलो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । तेह्रथुमका सन्तोष लिम्बूले पहिलो हाफमा २ गोल गरेका थिए भने धनकुटाका दिवस लिम्बू र सञ्जय रम्तेलले बराबरी गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच घोषित हुदै तेह्रथुमका सन्तोषले नगद ५ हजार र ट्रफी थापे ।

IMG_9312

यसैगरी, मिरमिरे युथ क्लब संखुवासभा र कोदार फुटबल क्लब भोजपुरबीचको दोस्रो खेल पनि बराबरीमा टुंगिए पछि एक एक अंक बाँड्यो । दुवै टिमले बराबरी १–१ गोल गरेको थियो । संखुवासभाका मिसाइल योञ्जनले गोल गरेका थिए भने भोजपुरका विजय भुजेलले एक गोल फर्काएका थिए । यो खेलको म्यान अफ दि म्याच भोजपुरका विजय भुजेल घोषित हुदै नगद ५ हजार र ट्रफी हात पारेका थिए । प्रतियोगितामा बुधबार तेह्रथुम र सुनसरीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ र प्रदेश १, सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौता वमोजिम मुख्यमन्त्री कप प्रदेश लिग ३ क्षेत्रमा विभाजन गरेर आयोजना भइरहेको छ । क्षेत्र २ अन्र्तगत सुनसरीको लिग विजेता धरान फुटबल क्लब, धनकुटाको बौद्धिक विकास समिति, तेह्रथुमको तेह्रथुम जिल्ला फुटबल संघ, संखुवासभाको मिरमिरे यूवा क्लव र भोजपुुरको कोदार फुटबल क्लबले धरानमा लिग खेल्दैछ भने क्षेत्र ३ अन्र्तगतको उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र मोरङको खेल हिजो सोमबारदेखि नै उदयपुरको गाइघाटमा शुरु भइसकेको छ । यस्तै, क्षेत्र १ अन्र्तगतको इलाम, ताप्लेजुङ, पाँचथर र झापाको प्रतियोगिता भोली बुधबारदेखि इलाममा शुरु हुने एन्फा केन्द्रीय प्रवक्ता एवं मुख्यमन्त्री कप प्रदेश लिग संयोजक किरण राईले बताए ।

IMG_9309 IMG_9329 IMG_9364