धरान: प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले धरानलाई प्रदेश राजधानी नबने पनि प्रदेश सरकारको महत्वपुर्ण प्रशासनिक संरचनाहरु आउने बताएका छन् ।

उनले धरानमा वन मन्त्रालअन्र्तगतको प्रादेशिक वन निर्देशनालय स्थापना भइसकेको उदाहरण दिदै अन्य प्रदेशस्तरीय प्रशासनिक कार्यालयहरु पनि आउने आश्वासन दिए । प्रदेश राजधानी घोषणा नभएकोमा कुनै विस्मात नलिन धरानबासीहरुलाई आग्रह गर्दै मन्त्री कुसियैतले प्रदेश सरकारले धरानलाई राजधानी सरह बनाउने संकल्प लिएको पनि दाबी गरे । ‘प्रदेश राजधानी घोषणाको क्रममा धरानमा पनि राजधानी मागको आवाज उठ्यो, तर कायम गर्न सकेनौं,’मन्त्री कुसियैतले भने,‘राजधानी नभएपनि राजधानी सरह बनाउने सरकारको संकल्प छ, प्रशासनिक संरचनाहरु धरान ल्याउछौं ।’

मन्त्री कुसियैतले केही समयअघि धरान १३ मा वन मन्त्रालयअन्र्तगतको वन निर्देशनालयको उद्घाटन गरेका थिए । धरानमा पर्यटन र खेलकुदको पनि प्रदेश कार्यालय स्थापना गर्ने सरकारको योजना छ । मन्त्री कुसियैतले धरानलाई खेलकुदको पनि राजधानी बनाउने उद्देश्यले खेलग्राम बनाउन आवश्यक बजेट विनियोजन गरेको बताए । धरानलाई पर्यटकीय नगरीकोरुपमा पनि सरकारले घोषणा गरेर आवश्यक बजेट विनियोजन गरेको मन्त्री कुसियैतको भनाई थियो । ‘धरान खेलकुद र पर्यटनको पनि केन्द्र बन्दैछ, त्यसैले खेलग्राम र पर्यटकीय नगरीकोरुपमा आगामी बर्षको बजेटमा सम्बोधन गरेका छौं,’उनले भने,‘धरानको समग्र खेलकुद क्षेत्रको विकास लागि खेलग्राम बनाउने हो ।’

pradesh-league

मन्त्री कुसियले गुन्द्रि र पिराबाट प्रदेश सरकारको शुरुवात भएको स्मरण गराउदै प्रदेश सरकार नयाँ संरचना भएपनि खेलकुद समग्र विकासको लागि त्यही अनुसारको नीति तथा कार्यक्रमहरु ल्याइएको बताए । ‘हामीले सरकार गुन्द्रि र पिराबाट शुरु गरेको हो, त्यस्तै, कर्मचारीको अभाव, ऐन नियम विधीको अभाव झेल्यौं’ मन्त्री कुसियले स्मरण गदै भने ‘अब हामी त्यो अवस्थाबाट मुक्त भएका छौं, अब खेलकुद क्षेत्रको विकासको लागि त्यही अनुसारको बजेट तथा नीति कार्यक्रम ल्याएका छौं ।’