भक्तपुर: चाँगुनारायण नगरपालिका–७ बाँसबारी खरिपाटीमा आफ्नै आमाको हत्याको योजनाकार छोरीसहित पक्राउ गरेका चारै जनालाई अदालतबाट म्याद थप भएको छ ।

छोरी ज्वाँईसँगै बस्दै आएकी ६० बर्षीय सावित्री भटराईको आइतबार हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा छोरी २७ बर्षीय इश्वरीसहित उनका प्रेमी २४ वर्षीय मोहम्मद नौसाद, अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रहिस पक्राउ परेका छन् । चारै जनालाई जिल्ला अदालत भक्तपुरले अनुसन्धानको लागि म्याद थप गरेको हो । सावित्रीको आइतबार बिहान करिब साढे १० बजेतिर घाँटी रेटेर हत्या भएको थियो ।

उनको हत्यामा नौसाद, भोलाकुमार र रहिस संलग्न भएका थिए । तर, हत्याको योजनाकारमा मृतककी छोरी इश्वरी पनि भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । इश्वरी र नौसादबीच अवैध प्रेम सम्बन्ध भएको र त्यो सम्बन्धबारे आमा सावित्रीले चाल पाएकी थिइन् । छोरीको घरबार बिग्रने चिन्ताले पैसा लगानी गरिदिएर नौसादलाई विदेश पठाए पनि आफुहरुको सम्बन्धमा आमा बाधक भएको ठहर गर्दै दुवैले उनको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इश्वरीको सोनम मगरसँग विवाह भएको थियो । मगर होटल व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए । इश्वरी गार्मेन्ट कारखानामा काम गर्दा नौसादसँग नजिकिएकी थिइन् । उनीहरुबीच सम्बन्ध प्रगाढ हुदै यौन सम्पर्कसमेत हुन थालेको थियो । यो अवैध सम्बन्धबारे इश्वरीकी आमा सावित्रीले थाह पाएपछि छोरीकै योजनामा उनको हत्या भएको हो ।

हत्याको लागि नौसाद विदेशबाट ९ दिन अघि मात्र फर्किएर भारत गएर भोलाकुमार र नौसादलाई पनि सहयोगीकोरुपमा लिएर आएको खुलेको छ । हत्या गर्नको लागि उनले दुवैलाई १२ लाख रुपैया दिने डिलसमेत गरेको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याको पुर्वयोजना अनुसार ईश्वरी त्यसदिन दिदीको घर जाने वहाना बनाएर घरबाट निस्केकी थिइन् । त्यही मौकामा ३ जना घरमा पुगेर सावित्रीको हत्या गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा अर्जुनकुमार र रहिस कन्ट्र्याक्ट किलर भएको पनि खुलेको छ ।