सुनसरी: प्रहरीले दुहबी नगरपालिका १२ बाट बुधबार राती जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा(कौडा) खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी ज्ञानेश्वर फुँयालका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष श्रवण चौधरीसँगै मोरङको ग्रामथान गाउँपालिका ६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान ५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन् ।

डिएसपी फुँयालका अनुसार बिशेष सुचनाको आधारमा दुहबी १२, पुर्वी कुसाहा भन्ने ठाउँबाट एक घरमा छापा मारेर उनीहरुलाई राती नै नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट १६ थान कौडा, नगद २ लाख ८४ हजार ७ सय र भारतीय २ सय पनि वरामद भएको छ । 'पक्राउ परेका श्रवण इटहरी १५ को वडाअध्यक्ष हो भन्ने कुरा छ, हामीले सोध्दा केही बोलेन, तर त्यही कुरा सुनेका छौं,'डिएसपी फुँयालले भने । पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि आज म्याद थप गरिएको प्रहरीले जनाएको छ । डिएसपी फुँयालका अनुसार पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप गरिएको छ ।