धरान : मुख्यमन्त्री कप प्रदेश लिग फुटल प्रतियोगिताअन्तर्गत क्षेत्र २ को बुधबार सम्पन्न खेलमा सुनसरी र तेह्रथुमले पनि अंक बाँडेको छ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा बुधबार भएको खेलमा धरान फुटबल क्बल(सुनसरी) र तेह्रथुमको जिल्ला फुटबल संघले बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा दुवै टिमले बराबरी २–२ गोल गरेको थियो । सुनसरी जिल्ला लिग च्याम्पियन धरानले खेलमा अग्रता लिएपनि तेह्रथुमलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलमा पहिलो हाफको ३१ औं मिनेटमा आकाश राईले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि पनि २८ औं मिनेटमा हिशब थपलियाले गोल गर्दै धरानलाई २–० को अग्रता दिलाएका थिए । तर, तेह्रथुमले खेलमा पुनरागमन जनाउदै दोसो हाफको ३० औं मिनेटमा गोलअन्तर घटाए । रोशन लिम्बूले तेह्रथुमको लागि पहिलो गोल गरेका थिए भने इञ्जुरी समयमा विष्णु रानाले गोल गर्दै खेल बराबरी बनाएपछि धरानले अंकतालिकामा अग्रता लिनबाट चुक्यो । खेलको म्यान अफ दि म्याच तेह्रथुमका खुमाहाङ लिम्बू घोषित हुदै नगद ५ हजार हात पारे ।

यसअघि, मंगलबार भएको खेलमा पनि तेह्रथुमले धनकुटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । दुई खेलमा बराबरी खेलेको तेह्रथुमले २ अंक बटुलेको छ । एक खेल खेलेको धनकुटा, भोजपुर र संखुवासभाले एक÷एक अंक बटुलेको छ । बिहिबार पहिलो खेल संखुवासभा र सुनसरी(धरान) बीच हुनेछ भने दोस्रो खेल धनकुटा र भोजपुरबीच हुनेछ ।