ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “७ कक्षा फेल कृष्णदासको विद्यावारिधिमाथि प्रश्न” शीर्षकको समाचार छापिएको छ । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रुपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास बराहक्षेत्रको चतरामा जगदगुरु श्रीरामानान्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्षा सातमा फेल भएका कृष्णदासले कसरी पाँच–पाँच विषयमा आचार्य र विद्यावारिधि गरे भन्ने विषयमा उनकै नातेदारहरु आश्चर्यमा परेका छन् । कृष्णदासले भक्तजनलाई आफूले विभिन्न विषयमा आचार्य (स्नातकोत्तर) गरेको र पिएचडी –विद्यावारिधि) गरेको बताएर मूर्ख बनाउँदै आएको बेला यो वास्तविक तथ्य बाहिर आएको हो । उनकै नजिकका एक नातेदारले भने, “कृष्णदाससँग ७ कक्षाभन्द बढी पढेको कुनै सर्टिफिकेट छैन ।”

उद्घोष : आजको उद्घोष दैनिकमा “सेल्फी खिच्दा ज्यान गयो” शीर्षकको समाचार छापिएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारका ३१ वर्षीय छिरिङतेन्जिङ शेर्पाको लडेर मृत्यु भएको छ । अमेरिका बस्दै आएका शेर्पा डुम्जी पर्व मनाउन घर आएकोमा घुम्नका लागि पासाङल्हामु गाउँपालिका ४ स्थित रहेको होटल एमरेष्ट भ्युनजिकै रहेको एनसेलको टावर छेउमा सेल्फी खिच्ने क्रममा लडेका । खोजतलास गर्ने क्रममा उनलाई आफन्तले बुधबार बिहान ५ बजे टावरभन्दा २५० मिटरतल क्याङ्जु जंगलमा मृत अवस्थामा भेटिएको थियो ।

औजार : आजको औजार दैनिकमा “वडा कार्यालय तोडफोड र आगजनी” शीर्षकको समाचार छापिएको छ । भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा बुधबार अज्ञात समूहले तोडफोड तथा आगजनी गरको छ । वडा कार्यालयको ताला फोडेर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टर्नेटका सामग्री, महत्वपूर्ण कागजातहरु जलाएको ईन्सपेक्टर पाण्डव राजवंशीले बताए । सोहि वडाको परिसर भित्रैबम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।