इटहरी : प्रदेश १ का संसदीय दलका नेता राजीब कोइरालाले प्रदेश सरकारले कुनै निर्णय नै गर्न नसक्ने बताएका छन् ।

धनकुटाको भेडेटारमा प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा बोल्दै कोइरालाले प्रदेश सरकारले कुनै निर्णय लिन नसक्ने बताएका हुन् । ‘प्रदेश सरकारमा दुईतिहाईँको बहुमत रहेपनि कमजोर छ,’ उनले भने, ‘प्रदेश सरकार कुनै निर्णय नै लिन सक्दैन ।’ उनले कार्यक्रम उद्धघाटन गर्नमा मात्रै सरकार व्यस्त रहेको उदृत गर्दै भने, ‘सरकार कार्यक्रम गर्नमा मात्र व्यस्त छ, कुनै नयाँ निर्णय लिनै सक्दैन, संसदमा उठेका प्रश्नको जवाफ मात्र दिने हो सरकारले ?’ उनले असार मसान्त आउनै लाग्दा बजेट बितरण गरेको बताउँदै भने, ‘हिजोसम्म २० प्रतिसत पनि काम भएको थिएन, आज रातारात ५० प्रतिसत बजेट कसरी खर्च हुन्छ ? हिजोसम्म बजेट खर्च नै नभएको सरकारले आज रातारात हतारहतारमा आफ्ना कार्यकर्तालाई बजेट बाँडिरहेको छ ।’

कोइरालाले प्रदेश सरकार पेचिलो भएको बताउँदै कुनै ठोस काम नै गर्न नसक्ने बताए । उनले भने, ‘संघीयता जोगाउन ठूलो चुनौती रहेको छ, स्थानीय तहले पनि जनताको चाहना अनुसार काम गर्न सकिरहेको छैन ।’ नेपालको संविधान टुक्राउनका लागि ६–६ महिनामै बहस हुने भएकाले संघीयता धरापमा रहेको उल्लेख गर्दै उनले भने, ‘देशमा जनतालाई सेवा प्रवाह प्रभावकारी छैन, जनताले सास्ती खेपिरहेका छन्, नागरिकको जीवनप्रति खेलवाड भईरहेको छ ।’

press-union-sunsari

कार्यक्रममा बरिष्ठ पत्रकार तथा कार्यक्रममा प्रशिक्षक राजेन्द्र दाहालले स्वतन्त्र पत्रकार जिम्मेवारी हुनुपर्ने तर्क गरे । ‘पत्रकार स्वयम्ले पत्रकारलाई स्वतन्त्र बनाउने जिम्मेवारी हुनुपर्छ,’ उनले भने । दाहालले मिडियाको मालिकबाटै प्रेस स्वतन्त्रता धरापमा रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकार कसैको निर्देशनमा चल्न नहुने बताउँदै भने, ‘पत्रकारले समाचार बनाउने हैन, पत्रकारले त बनिराखेको समाचार आकर्षक बनाउने हो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष बिजय सन्तोषी राई, प्रेस युनियन १ नं. प्रदेश संयोजक लिलाबल्लभ घिमिरे लगायतले बोलेका थिए । कार्यक्रम प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अभिमुखिकरण कार्यक्रममा ३५ जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

फोटोः एल थापा