काठमाण्डौ : सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ ।

उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ ।

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकराले जाँच गर्न थालेपछि काठमाडौँस्थित भारतीय दूतावासले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो ।

दूतावासको पत्रमा भारतबाट निर्बाध रुपमा नेपालमा खाद्यलगायत सामाग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको छ । पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच गर्ने व्यवस्था हटाउन माग गरेका छन् । –नागरिक दैनिकबाट