दमक : झापामा मदिरा नियन्त्रण अभियान चलिरहेको बेला दमकमा भने प्रायः सबै किराना र फलफुल पसलमा खुलेआम मदिराको बिक्री वितरण हुने गरेको छ ।

नियम विपरित यस्तो कारोवार हुँदा समेत सरोकारवाला निकायको ध्यान जान सकेको छैन । सरकारी नियममा यस्ता पसलको एउटै काउन्टरबाट मदिरा बिक्रि गर्न नपाउने व्यवस्था छ । तर सम्बन्धित निकायले अनुगन नै नगरी जताभावी अनुमति दिंदा समस्या देखिएको हो । फितलो अनुगमनका कारण पनि खुलेआम मदिराको विक्रि बितरण भएको हो । यसको प्रत्यक्ष असर वास्तविक मदिरा व्यवसायीलाई पर्ने गरेको मेची मदिरा व्यवसायी संघका अध्यक्ष प्रेम पाण्डे बताउँछन । पाण्डे भन्छन, ‘ यसरी कसैले बिक्रि गर्न पाउँदैन तर बिक्री भैरहेको छ, जसका कारण वास्तविक मदिरा ब्यवसायी मारमा परेका छन ।’ सरकारले बनाएको मदिरा बिक्रि वितरण सम्वन्धी नियममा मदिरा व्यवसाय गर्ने व्यापारीले एकै ठाउँबाट अरु कुनै सामान बिक्री गर्न नपाउने व्यवस्था छ ।

आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठक पनि अनुमति भएपनि फलफुल पसलबाट मदिराजन्य बस्तु बिक्री वितरण गर्न नपाइने बताउँछन । पाठक भन्छन, ‘ यसरी गर्न पाईदैन । हामी अनुगमन गर्छौं यदि कसैले गरेको भेटिए कारवाही गर्छौं ।’ तर उनले यस्तो भनिरहँदा दमकमा प्रभावकारी अनुगमन हुन नसकेको स्थानियको भनाई छ । दमकमा सानाठूला गरि १ सय ५० भन्दा बढि मदिरा व्यवसायीहरु रहेका छन ।

तस्बिर स्रोत :  गुगल