पूर्व फुटबल खेलाडी फ्रांक लाम्पार्डलाई चेल्सी फुटबल क्लबले नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

चेल्सीले लाम्पार्डसँग तीन वर्षको सम्झौता गरेको छ । ४१ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्वी काउन्टी छाडेर आफ्नै पूर्व क्लबमा प्रशिक्षकको रुपमा फर्किएका हुन् ।

उनले अब माउरिसियो सार्रीको स्थान लिनेछन् । सारी चेल्सी छाडेर इटालियन क्लब युभेन्ट्स लागिसकेका छन् । ‘चेल्सीको प्रमुख प्रशिक्षकको रुपमा फर्कन पाउँदा म एकदमै खुशी छु,’ लाम्पार्डले भने ।

लामम्पार्डले डर्बीको प्रशिक्षक हुँदा क्लबलाई च्याम्पियनसिप प्लेअफसम्म र्पुयाएका थिए । तर एस्टन भिल्लासँग पराजित भएपछि प्रिमियर लिगमा बढुवा हुन सकेको थिएन ।

इंग्ल्याण्डको राष्ट्रिय टोलीका पूर्व खेलाडी लाम्पार्डले चेल्सीका लागि ६४८ खेल खेल्दै ११ वटा मुख्य उपाधि जितेका थिए । उनले स्ट्यामफर्ड ब्रिजमा १३ वर्ष बिताउने क्रममा क्लबका लागि सर्वा्धिक २११ गोल गरेका थिए । www.ujyalokhabar.com