ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “करोडौं रकम लिई एक व्यक्ति बेपत्ता” शीर्षकको समाचार छापिएको छ । महँगो ब्याजको लोभ देखाउँदै करोडौं रकम उठाएर झापाबाट एक व्यक्ति बेपत्ता भएपछि ब्याजमा लाखौं लगानी गर्नेहरुको रुवाबासी भएको छ । सप्तरीको दौलतपुर स्थायाी ठेगाना भई हाल झापाको भद्रपुर १० धनुषमोडनजिकै बस्दै आएका ४५ वर्षीय राजकुमार राउत करोडौं रकम लिएर बपत्ता भएका छन् । राउत असार १३ गते शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले झापाको विर्तामोड, भद्रपुर, चन्द्रगढी, गौरादह, उदयपुरको गाईघाटलगायतका स्थानबाट विभिन्न सर्वसाधारण, सुन व्यवसायी, यातायात व्यवसायी, सटही काउण्टर चालक, उद्योगी, छिमेकी र आफन्तजनबाट समेत अनुमानित ५ करोडभन्दा बढी रकम लिएर बेपत्ता भएको पिडीतहरुको आरोप छ । उनले विभिन्न व्यक्तिका १ देखि २७ लाख रुपैयाँसम्म रकम सापटि लिएको देखिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रदेश सरकार छारैछोराको घर” शीर्षकको समाचार छापिएको छ । १६ महिने प्रदेश सरकारको पाँच सदस्यीय मन्त्रीमण्डलले कहिले पूर्णता पाउला भन्ने विषयमा सत्तारुढ दल नेकपाका सांसदहरु स्वयं चुपचाप देखिन्छन् । जारी बजेट अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेकपाको संसदीय दलको बैठकमा समेत विषय प्रवेश नभएको सरकार विस्तारको कुरामा प्रतिपक्षी दलले भने बारम्बार झक्झक्याउँदै आएको छ । संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले कैयौं पटक सरकार विस्तारको विषयलाई रोष्ट्रममा पुर्याईसकेका छन् । उनले बजेटको ठुलो हिस्सा ओगट्ने मन्त्रालय नै विभागीय मन्त्रीविहीन भएको टिप्पणी गरिसकेका छन् । बुधबारको प्रदेशसभा बैठकको शुन्य समयमा कांग्रेसका एकजना ज्येष्ठ सांसदले भने वर्तमान मन्त्रीमण्डलप्रतिको टिप्पण्ी भने फरक तरिकाले गरेका छन् । कहिले सांसदको तलबभत्ता बढाउनुपर्ने त कहिले प्रत्यक्ष र समानुपातिकलाई बराबरी बजेट नदिए सांसद विकास कोषको ५० लाख लिंदै नलिने घोषणा गर्ने कांग्रेसका समानुपातिक सांसद प्रताप्रकाश हाङ्गामले वर्तमान मन्त्रीमण्डल “छारैछोराको घरजस्तो” भएको टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैंले सम्हादै आएका छन् ।

औजार : आजको औजार दैनिकमा “रक्तसञ्चार केन्द्रमा भ्रष्टाचार अख्तियारमा पुग्यो उजुरी” शीर्षकको समाचार छापिएको छ । सामाजिक सेवाको परोपकारी संस्थाको रुपमा मानिदैं आएको रेडक्रस पछिल्लो समय विवादमा पर्न थालेको छ । कहिले केन्द्रको विवाद त कहिले शाखाहरुमा भएको गतिविधिहरु विवादमा पर्न थालेको छ । यस्तै विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा भ्रष्टाचार भएको खुलासा भएको छ । रक्तदान गरेको रगतबाटै भ्रष्टाचार भएको खुलाशा भएको हो । करिब पाँचलाख रुपैयाँ भ्रष्टाचार भएको छ । रेडक्रसका कर्मचारी र पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको खुलासा भएको हो । भ्रष्टाचारको विषय बाहिर आएपछि पदाधिकारीलाई जोगाउन रक्तसञ्चार केन्द्रका कर्मचारी राजकुमार राजवंशीको नाममा ४ लाख ८३ हजार ११८ रुपैयाँको तमसुक गराएका छन् । तीन वर्षयता भएको भ्रष्टाचारमा पदाधिकारी मुछिने अवस्था आएपछि कर्मचारीसँग वडा कार्यालयमा सुटुक्क कागज गराइएको हो । विराटनगर महानगरपालिका ८ का अध्यक्ष्यको उपस्थितिमा राजवंशीले एक वर्षभित्र तलबबाट प्राप्त हुने रकमबाट कट्नेगरी घोटाला भएको रकम तिर्ने कागज गरेका छन् । रेडक्रस र रक्त सञ्चार केन्द्र मोरङको संयोजकमा सुबोधकुमार सिंह छन् ।