धरान:चालु आर्थिक बर्ष २०७५/०७६ सकिन लाग्दा धरानको वडा नं २० स्थित चिण्डे डाँडामा ४ तलाको भ्यु टावर निर्माण भइरहेको छ । तर, यो टावरबारे स्थानीय सरकार(तह) धरान उपमहानगरपालिकाले भने जानकारी नभएको जनाएको छ ।

टावर बन्दैछ भन्ने अनौपचारिकरुपमा थाह छ, तर कति लागतमा कस्तो टावर बन्दैछ भन्ने उनीहरु अनभिज्ञ छन् । यो टावर शिलान्यास हुँदा पनि धरानका जनप्रतिनिधिहरुले थाहै पाएनन् । उपमहानगरपालिकाका प्राविधिकहरु पनि नाम नखुलाउने सर्तमा समन्वय नभएको बताउँछन् । धरानको वडा नं २० पर्यटकीय क्षेत्र हो । अझ चिण्डे डाँडा धरानलाई नियाल्न आन्तरिक पर्यटकहरु जाने गरेका छन् । त्यही क्षेत्रमा धरान उपमहानगरको प्रस्ताव वमोजिम भ्यु टावर बनाउन चालु आर्थिक बर्षमा बजेट विनियोजन त भयो, तर कार्यान्वयन गर्ने बेला भने समन्वय नगरी काम गरिरहेको छ । ‘भ्यु टावर बन्दैछ भन्ने सुनेको छुँ तर औैपचारिक जानकारीमा आएको छैन,’कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘संघीय सरकारको आयोजनाहरु समन्वय हुन्छ, प्रदेश सरकारको योजनाहरुमा भइरहेको छैन, कहाँ के हुदैछ भन्ने जानकारी त हामीलाई दिइनु पर्ने हो ।’

pic-3,chinde-dangda-view-to

चिण्डे डाँडामा भ्यु टावर बनाउन यो बर्ष ३० लाख बजेट विनियोजन भएको थियो । त्यसलाई खर्च गर्न प्रदेशले स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरेर काम भइरहेको छ । यो बजेट खर्च गर्न प्रदेशबाट नै प्राविधिक टोली आएर स्टिमेट गरेको थियो । यद्यपी, उपभोक्ता समितिका अध्यक्ष सम्फर तामाङ भने उपमहानगरपालिकालाई पत्राचार गरेर टावर निर्माणबारे जानकारी दिएको बताउँछन् । ‘यो योजना ५,६ बर्षदेखिकै हो, नगरलाई चिठी दिएर जानकारी दिएकै छौं,’उनले भने,‘समन्वय छ ।’

हर्दियाको बजेट फ्रिज

चिण्डे डाँडामा मात्र होइन, प्रदेश सरकारले धरानको वडा नं ४ स्थित हर्दियामा पनि भ्यु टावर बनाउदैछ । त्यहाँको टावर निर्माणमा पनि स्थानीय तह(धरान उपमहानगर)सँग समन्वय नभएको उपमहानगरको भनाई छ । त्यहाँको टावर बनाउन यो बर्ष ५० लाख बजेट विनियोजना गरेको थियो । तर, यो बर्ष काम हुन नसकेर बजेट फ्रिज भएको हर्दियास्थित भ्यु टावर निर्माण समितिका सचिव लक्ष्मी बाँनियाले बताए । उनका अनुसार सोइल टेष्ट, डिपिआर तयारीलगायतको काम ढिलाई भएकोले यो बर्ष खर्च हुन नपाई यो बजेट फिर्ता गएको हो ।