धरान: मुख्यमन्त्री कप प्रदेश लिगअन्र्तगत क्षेत्र २ को फुटबल प्रतियोगितामा तेह्रथुम जिल्लाले अंकतालिकाको शीर्षस्थान कायमै राखेको छ ।

तेह्रथुमलाई प्रदेश लिग खेल्नबाट रोकेर आफु छनौट हुन आइतबार हुने आ आफ्नो खेलमा धरान र धनकुटाले जित मात्र होइन, फराकिलो गोलअन्तरले नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ । शनिबार भएको खेलमा धरान र धनकुटाले बराबरी खेलेर अंक बाँड्दा दुवैको कुल अंक ५ छ भने तेह्रथुमले भने विजयी हुदै ८ अंकका साथ शीर्ष स्थानमा छ । यो अंकले क्षेत्र २ बाट तेह्रथुम प्रदेश लिग खेल्न जाने निश्चित झैं बनेको छ । तर, आइतबारको दुई खेलसम्म भने कुर्नुपर्नेछ ।

IMG_8951

शनिबार भएको पहिलो खेलमा सुनसरी लिग च्याम्पियन धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकास समितिले १–१ गोलको बराबरी खेल्यो । पहिलो आफको ५ औं मिनेटमा धनकुटाका सञ्जय रम्तेलले गोल गरेका थिए । दोस्रो हाफको १० औं मिनेटमा धरानका अरुण धामीले गोल फर्काउदै खेल बराबरी बनाए । त्यसपछि दुवैबाट गोल हुन नसकेपछि एक एक अंक बाड्न बाध्य भयो । अंक तालिकामा दुवैको कुल अंक समान ५ रहेको छ । सो खेलको म्यान अफ दि म्याच सुनसरीका गोलकिप्पर सचिन श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार र ट्रफी थापे ।

man-of-the-match

यस्तै, दोस्रो खेलमा तेह्रथुम जिल्ला फुटबल संघले भोजपुरको कोदार फुटबल क्लवलाई ५–० गोलअन्तरले हराउदै महत्वपुर्ण ३ अंक जोड्यो । पहिलो हाफको ८ औं र ४० औं मिनेटमा विमल गुरुङले २ गोल गरे भने सन्तोष लिम्बुले पहिलो हाफको ३३ औं र दोस्रो हाफको २७ औं मिनेटमा गोल गरेका थिए । यस्तै, खेलको दोस्रो हाफको २२ औं मिनेटमा रोशन लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तेह्रथुमका विमल गुरुङ घोषित हुँदै नगद ५ हजार थापे । यस्तै, आइतबारको पहिलो खेल धनकुटा र संखुवासभाबीच हुनेछ भने दोस्रो खेल भोजपुर र सुनसरीबीच हुने एन्फाले जनाएको छ ।