ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शौचालयमा घाँस, खोला किनारमा दिसा–पिसाब” शीर्षकको समाचार छापिएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा भएको करिब अढाई वर्ष बितिसक्दा पनि उदयपुरको उतराई टोलका मुसहर बस्तीको शौचालय प्रयोगमा आएको छैन । त्रियुगा नगरपालिका ८ को उतराई टोलका मुसहर बस्तीका बासिन्दाहरुले हिमेकी खोला किनारमा खुलारुपमा दिसापिसाब गरेपछि शौचालय प्रयोगमा नआएको हो । खुला दिसामुक्त अभियानलाई सफल बनाउन गरिब दलित समुदायलाई शौचालयको सम्पूर्ण सामान सरकारले दिएको भए पनि केही व्यक्तिले अझै बनाएको छैन । बनाएकाहरुले पनि शौचालयमा दिसा पिसाबन नगरी कसैले पराल, घाँस राखेका छन् भने कतिपयकोमा झार पलाएको छ । यष्स समुदायका ७–८ घरले शौचालयको प्रयोग गरेका छैनन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पानी माग्दै भ्यागुताको बिहे” शीर्षकको समाचार छापिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका दक्षिणपूर्वी मोरङका किसानहरुले वर्षा हुने जनविश्वास साथ शनिबार भ्यागुताको बिहे गरेका छन् । असार बित्न लाग्दासमेत वर्षा नभएपछि वर्षा हुन्छ भन्ने विश्वासका साथ किसानहरुले रंगेली संसारी माईस्थान मन्दिरमा भ्यागुताको विवाह गरेका हुन् । सो क्रममा उनीहरुलाई विधिवतरुपमा भाले र पोथी भयागुताको विवाह गरेका थिए ।

औजार : आजको औजार दैनिकमा “सप्तकोशीमा उच्च बाँध बनाउन भारु ७ सय करोड” शीर्षकको समाचार छापिएको छ । भारत सरकारले सप्तकोशी उच्च बाँधको डीपीआरका लागि बजेट छुट्याएको छ । सप्तकोशीसँगै भारत सरकारले सुनकोशी डाइभर्सनको स्किमको डिपीआर तयार पार्नका लागि समेत बजेट विनियोजन गरेको छ । बाढी नियन्त्रण तथा सीमा क्षेत्र कार्यक्रम अन्तर्गत भारतले नेपालमा सञ्चालन हुने आयोजनाहरुका लागि बजेट छुट्याएको हो । सप्तकोशी उच्चबाँधका अतिरिक्त बाढी प्रभावित अन्य नदीहरुको नियन्त्रण, पुनरुद्धार जस्ता क्षेत्रमा समेत खर्च गर्नेगरी भारत सरकारले नयाँ आर्थिक वर्षका लागि कूल ७०० करोड भारु ीवनियोजन गरेको छ । भारतले डिपिआरका लागि रकम विनियोजन गरेको सप्तकोशी उच्च बाँध बहुद्देश्यीय परियोजना नेपालको विवादस्पद परियोजना हो ।