ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इनरुवाको नगरसभा अन्यौलमा” शीर्षकको समाचार छापिएको छ । अन्य नगरपालिकाको नीति तथा कार्यक्रम सम्पन्न भई पारित भइसक्दा पनि इनरुवाको नगरसभा भने अनिश्चित बनेको छ । नेकपाका जनप्रतिनिधिको बहिष्कारपछि रोकिएको नगरसभा थप अन्यौल बनेको हो । नेकपाले नगरको सम्पूर्ण हिसाब किताब सार्वजनिक हुनुपर्ने अडान राखेको छ । नगरप्रमुखले तयार पारेको ३४ लाखको वडागत बजेट सिलिङसँगै चुलिएको असन्तृष्टि यो बेला पारदर्शितासंग जोडिन थालेको छ । इनरुवा नगर कार्यपालिकाका लेखा समिति संयोजक कृष्ण पोखरेल आर्थिक वर्ष ०७५,७६ को सम्पूर्ण हिसाब किताब पारदर्शी हुनुपर्ने बताए । नगरप्रमुखको अनियमितता र आफूखुशी गर्ने प्रवृतिको चर्को विरोध जनाएका नेकपाका प्रतिनिधिहरुले पार्टीको ह्वीपलाई समेत वेवास्ता गरेपछि नगरसभा अनिश्चित बनेको हो । लेखा समितिका लागि सबै कागजात छोटो समयमा केलाउन कठिन छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पूविमा तोडफोड र तालाबन्दी” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापन रोक्न माग गर्दै आएका विद्यार्थी संगठनहरुले तोडफोड गरी तालाबन्दी गरेका छन् । आइतबार पाँच विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका हुन् । सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापकलगायतका शैक्षिक पदहरुमा खुल्ला खुल्लातर्फको विज्ञापन प्रकाशन गरेको थियो । गत साउन महिनामा सेवा आयोगले ती पदहरुको परिक्षा तालिका प्रकाशन गरेपछि विवाद सुरु भएको हो । पछिल्लो पटक गत चैत ५ गते प्रधानमन्त्री कायर्षलयले दैनिक कार्यसम्पादन बाहेकका अन्य काम तत्काल रोक्न निर्देशन दिएको थियो । तर निर्देशनविपरित आयोगले विज्ञापन भर्नासम्बन्धी काम अघि बढाएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनविपरीत भर्ना प्रक्रिया अघि बढाएपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी युनियनले तोडफोड गरी तालाबन्दी गरेका हुन् ।

औजार : आजको औजार दैनिकमा “आजदेखि प्रदेश १ मा पेट्रोलियम पदार्थ सहज हुने” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ मा केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव आजदेखि सहज हुने भएको छ । इन्धन ढुवानीको ठेक्का लिएका ठेकेदारले इन्धन ढुवानी नगरेका कारण बजारमा अभाव देखिएको थियो । केही दिन अघिदेखि नै पम्पहरुले पेट्रोलियम पदार्थ अभाव भएको भन्दै पम्प नै बन्द गरिरहेका छन् । पेट्रोल अभाव भएपछि पम्पहरु बन्द गर्नुपरेको खड्का आयष्ल सेन्टर बेलबारीका प्रबन्धक बाबुराम खड्काले बताए । भारतको जोगवनी बजार क्षेत्रको सडकमा ठूला खाल्डा परेका कारण ढुवानीमा समस्या भएको र धेरै दिनसम्म जाममा बस्नुपरेको भन्दै विहीबारदेखि ढुवानी व्यवसायीले आन्तरिक ढुवानीसमेत बन्द गरेको थियो ।