धरान: सुनसरी उद्योग वाणिज्य संघका कार्यसमितिलाई संस्थागत क्षमता स्व–लेखाजोखा तालिम दिइएको छ ।

तालिममा प्रमुख सहजकर्ताकोरुपमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका कार्यक्रम विकास विज्ञ ज्ञानेश्वर महतो रहेका थिए । संघको सामाजिक एवं वित्तिय व्यवस्था, आन्तरिक संगठन, कार्यक्रम र योजना, कार्यसमिति सदस्य र कर्मचारीहरुको उत्प्रेरणा र प्रतिबद्धतालगायत बिषयमा तालिम दिइएको छ ।

यस्तै, सामाजिक समावेशिकरण र लैङ्गिक समानता सम्बन्धमा स्व–लेखाजोखा गरी आगामी वर्षभित्र यसलाई अझ सुदृढ गरि लैजान कार्यसमितिका पदाधिकारीलाई जिम्मेवारी प्रदान र समयावधिको योजना समेत गरिएको संघले जनाएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमलाई समृद्धि योजनाले प्राविधिक सहयोग गरेको संघका सदस्य विष्णु बरालले बताए । विभिन्न जिल्ला र नगरका वाणिज्य संघहरुमा आयोजना गरिएको यो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सदस्यहरुको सहभागिता उत्साहजनक रहेको कार्यक्रमका सहजकर्ताले जनाएका थिए ।