धरान: धरान विलासीहरुको मात्र सहर होइन, मेहनती र उद्यमशिलहरुको पनि सहर हो । यहाँका महिलाहरु चुलाचौका र गफ गरेर मात्र समय कटाउदैनन्, केही न केही सीप सिकेर उत्पादनसँग पनि जोडिएका छन् । आफुलाई उद्यमीकोरुपमा पनि अघिबढाउने प्रयास गरिरहेका छन् ।

सोमबार धरानको देशीलाइनस्थित होटल नवयुगको आँगनमा यस्तै उद्यमी महिलाहरुको सीप, दक्षता र उत्पादनलाई आम धरानेहरुले देख्न पाए । भर्खरका युवादेखि ६० बर्षका उमेर कटेका महिलाहरु पनि उत्पादनसँग जोडिएको त्यहाँ प्रर्दशनीमा राखिएका वस्तुहरुले देखाएको थियो । कसैले आलुबाट चिप्स उत्पादन गरिरहेको, कसैले ढाका कपडा, नर्सरी, खाद्यान्न, वर माला, सुकुटीको अचार, विभिन्न हिरा जडित पोते, आचार,ह्याण्डी क्राफ्टलगायत विभिन्न उद्योग र उत्पादनसँग महिलाहरु जोडिएको त्यहाँ प्रर्दशनीमा राखिएका वस्तुहरुले प्रष्ट पारेको थियो ।

mahila-udhami1

महिलाहरुले उत्पादन गरेको घरेलु बस्तुको बजारीकरण कसरी गर्ने, आउने चुनौतीको विषयमा उद्यमशिलता र बजारको सम्भावना बिषयका ५ दिने तालिमको समापनको अवसरमा उद्यमी महिलाहरुले उत्पादन गरेको वस्तुहरुको प्रर्दशनी पनि गरिएको थियो । यो तालिम धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा बिहिबारदेखि भएको थियो । तालिममा धरानका १९ जना महिला उद्यमीहरु सहभागी भएको महाशाखाकी जेसि प्रमुख तथा कार्यक्रम संयोजक हेमा थलङले बताइन् । 'उद्यमी महिलाहरुलाई तालिममा सहभागी गरायौं, आफ्नो उत्पादन कसरी बजारीकरण गर्ने भनेर सहजीकरण गरिएको हो,'उनले भनिन्,'समापनको बेला सहभागी महिलाहरुले उत्पादन गरिरहेको वस्तुहरु प्रर्दशनी तथा बिक्रीमा राख्यौं, यसले पनि उहाँहरुको उत्पादनको प्रर्वद्धन भयो ।'

mahila-udhami2

तालिममा व्यावसाय कसरी गर्ने, व्यावसायमा आउने चुनौती, उत्पादन भएको बस्तुको बजारीकणलगायतको विषयमा प्रशिक्षण दिइएको थियो । तालिमको सहजिकरण काठमाडौंस्थित शिब शक्ति टेनिङ सेन्टरकी रचना पाण्डेले गरेकी थिइन् । समापन कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, कोषाध्यक्ष लहरुमाया जिमीलगायतको सहभागीता रहेको थियो । महिलाहरु उत्पादनसँग जोडिन आवश्यक भएको कार्यवाहक मेयर भण्डारीले बताइन् । साथै, महिलाहरुलाई उद्यमी बन्न उपमहानगरले प्रोत्साहन गर्ने पनि उनले बताइन् । यस्तै, महिला सञ्जालकी अध्यक्ष राईले पनि महिलाहरु व्यवसायिक र उद्यमशील हुन आग्रह गरिन् । सरकारले पनि महिलाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । सामाजिक विकास समितिका अध्यक्ष एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा नं २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठले पनि महिलाहरु उद्यमशिल हुनुपर्नेमा जोडदिए ।

mahila-udhami8 mahila-udhami4 mahila-udhami5 mahila-udhami6 mahila-udhami7