धरान: हिजो सोमबार जिल्ला अदालत सुनसरीको आदेशबाट नेत्रबिक्रम चन्द विप्लवका दुई केन्द्रीय सदस्यसहित ४ जना छुटेका छन् भने पोलिटब्युरो सदस्य भने पुनः पक्राउ परे ।

विप्लवका नेता, कार्यकर्ताहरुलाई हातहतियार एवं संगठित अपराधको मुद्दा लगाइनु अनौठो थिएन । हिजो विप्लवका नेता, कार्यकर्ताहरु छुटेपछि नेकपाका नेताहरुको प्रतिक्रियाले भने सरकार र विप्लवबीच वार्ताको पहल भइरहेको हो कि भन्ने संकेत दिएको छ । सोमबार जिल्ला न्यायाधिश ध्रुवकुमार उप्रेतीले विप्लवका नेता, कार्यकर्ताहरुलाई सादा तारेखमा छोड्न आदेश दिएका थिए । अदालतको आदेशबाट विप्लवका पाँच जना नेता,कार्यकर्ता छुटेका थिए ।

अदालतको आदेशबाट छुटेका केन्द्रीय सदस्य चुडामणी वली(आदर्श), चन्द्रबहादुर खड्का(असल), वाइसिएलका निवर्तमान अध्यक्ष बाबुराम राई(विवश) र मिनबहादुर राई(ज्वाला) लाई प्रहरीले केही पनि गरेन, तर पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई प्रहरीले पुनः पक्राउ गर्यो । उनीविरुद्ध नुवाकोटमा पनि मुद्दा चलेकोले अड्डा सार गरेर त्यता लगिएको स्रोतको भनाई छ । कार्की विप्लवका १३ जना पोलिटब्युरो सदस्यमध्ये एक नेता हुन् ।

अदालतको आदेशबाट विप्लवका नेताहरु छुटेपछि सुनसरी जिल्ला प्रहरी कार्यालयअघि सत्तारुढ नेकपाका नेताहरुले तस्बिर मात्र खिचेनन्, उनीहरुको रिहाईले सरकार र विप्लवबीच वार्ता हुने सकरात्मक वातावरण बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्टसमेत गरे । नेकपाका नेता शिव डाँगीले त नेकपाको मुख्य नेतृत्वको बिशेष पहलमा विप्लवका नेताहरु हिरासतमुक्त भएको उल्लेख गरेका छन् । ‘यो सरकारसँगको वार्ताको लागि सकरात्मक पहलकोरुपमा लिनुपर्ने हुन्छ,’उनले लेखेका छन् ।

नेकपाका प्रदेश १ कमिटि सदस्य अइन्द्रबिक्रम बेघाले पनि यो रिहाईले सरकार र विप्लवबीच वार्ताको सकरात्मक वातावरण बनेको बताए । ‘यो सकरात्मक पहलकोरुपमा लिनुपर्छ । पार्टी नेतृत्वबाट नै पहल भएकोले उहाँहरु छुट्नुभएको हो,’उनले कपुरीन्यूजसँग भने,‘वार्ता र संवादको माध्यमबाट नै निकास आउनुपर्छ ।’