झापा: पछिल्लो समय झापामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको तथ्यांक अनुसार झापामा वर्षेनि आत्महत्याको दर बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ४६ जनाले आत्महत्या गरेकोमा चालू आर्थिक वर्ष ०७५/०७६ को हालसम्म दुई सय ६६ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार झापामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

आत्महत्या गर्नेमा अधिकांश किशोर अवस्थाका युवायुवती रहेको बताइएको छ । प्रहरीले आत्महत्याविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्याको दर बढ्दै जानु समाजका लागि चिन्ताको विषय भएको प्रहरीले जनाएको छ । विभिन्न विद्यालय तहमा नै आत्महत्याविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पछिल्लो समय आत्महत्या दर बढ्नुले चुनौति थपिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

प्रविधिको विकाससँगै विभिन्न निराशाजनक गतिविधिमा किशोरकिशोरी संलग्न हुने र देखासिकी लगायतका कारण पनि आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । सामाजिक सञ्जालमा जथाभावी अश्लील कुराकानी गर्ने र अन्त्यमा असमझदारी बढ्दा त्यसले आत्महत्याको बाटो रोज्ने गरेको कतिपय घटना फेला परेको प्रहरीले जनाएको छ । महत्वाकांक्षी बन्दा पनि धेरैले आफ्नो उद्देश्य पूरा गर्न नसक्दा मृत्युको बाटो रोज्ने गरेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्नुमा असफल प्रेम, लागूऔषधको प्रयोग, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग लगायत रहेको प्रहरीको भनाइ छ । पूर्वको इलाममा सबैभन्दा बढी आत्महत्या हुनेमा पछिल्लो समय झापामा आत्महत्याको दर भयावहरुपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।

आत्महत्या रोक्न प्रहरीको एक्लो प्रयासले मात्र केही नहुने भन्दै प्रहरी उपरीक्षक मैनालीले समुदाय एक भएर यसका विरुद्ध लाग्नुपर्ने बताए । उनले बाल्यकालदेखि नै सकारात्मक विषयमा आफ्ना बालबच्चालाई शिक्षा दिनुपर्ने र नकारात्मक विचार राखेमा तुरुन्त उसलाई मनोपरामर्श दिएर सकारात्मक बाटोमा लगाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले पछिल्लो समय मानिसमा मानसिक समस्या बढ्दै गएकाले पनि आत्महत्या अन्तिम विकल्प हुँदै रोज्ने गरेको पाइएको बताए । आत्महत्या रोक्नलाई विद्यालय तहमा नै पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।