धरान: धरान र आसपासको पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन प्रर्वद्धन सामग्री प्रकाशन गरिएको छ ।

उपमहानगरपालिकाअन्र्तगतको धरान पर्यटन विकास समितिले तयार गरेको सामग्रीहरुको आज मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन सचिव बुद्धिराज ढुंगाना, धरानका प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल, इष्ट टुरिज्म मार्ट व्यवस्थापन समितिका अध्यक्ष भवेश श्रेष्ठ र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले सार्वजनिक गरेका थिए ।

उपमहानगरले धरानको भानुचोक तथा घण्टाघर समेटिएको रात्री दृष्यको सुन्दर पोष्टर प्रकाशन गरेको छ भने पुर्वको एक मात्र गल्फ कोर्षको सुन्दर तस्बिर र पिण्डेश्वर बाबाधामको तस्बिरलाई ठुलो साइजको पोष्टरमा प्रकाशन गरेको हो । सरकारी निकायले धरानको पर्यटन प्रर्वद्धन गर्न पहिलो पटक पोष्टर प्रकाशन गरेको यो नै हो । तस्बिर धरानका फोटोग्राफर राजेश शाक्यले खिचेका हुन् । यस्तै, २ वटा ब्रोसर र एउटा गन्तव्यहरु समेटिएको पुस्तिका पनि प्रकाशन गरिएको छ । पोष्टर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक मेयर भण्डारीले पोष्टर धरानको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण कदम भएको उल्लेख गर्दै पोष्टरलाई धरानेहरुले प्रत्येक घर र पर्यटनकर्मीहरुले होटलहरुमा राख्न आग्रह गरिन् ।

dhrn-postr

धरान ४ स्थित ऐतिहासिक साँगुरीगढी, धरान १४ स्थित विजयपुर गढी र धरान ४ स्थित देवीथान गढीलाई एकीकृतरुपमा जोडेर युनिफिकेशन ट्रेल(एकीकरण पदमार्ग)कोरुपमा विकास गरिने उनले बताइन् । पर्यटन समितिका संयोजकसमेत रहेकी उनले भनिन्,‘यो गढीहरु नेपाल एकीकरणको अभियानसँग जोडिएको हुनसक्छ, त्यसैले यी गढीहरुलाई जोडेर एकीकृतरुपमा युनिफिकेशन ट्रेल बनाउछौं । पर्यटक, विद्यार्थीहरुलाई इतिहास बुझ्ने अवसर पनि हुन्छ ।’

इष्ट टुरिज्म मार्टका अध्यक्ष भवेश श्रेष्ठले पर्यटनमा धरानको सम्भावना धेरै भएपनि मृगले आफ्नो कस्तुरी नचिनेजस्तै अवस्थामा रहेको टिप्पणी गरे । साथै उनले धरानलाई पहिला धरानेहरुले नै चिन्नुपर्ने र मात्र अरुलाई चिनाउनुपर्ने बताए । ‘पुर्वमा यस्तो पोष्टर इलामसँग मात्र छ, अब धरानको पनि बन्यो । हामी प्रदेशभरी नै धरानको पोष्टर होटलहरुमा राख्ने व्यवस्था मिलाउछौं,’उनले भने ।

IMG_9590

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले विष्णुपादुका क्षेत्रमा रहेको ऐतिहासिक सुलिकोट, सिद्धपोखरीलगायतलाई पनि समेटेर काम गर्न आग्रह गरे । साथै, उनले साँगुरीगढीबाट धनकुटा लगिएको ऐतिहासिक तोपलाई साविककै स्थानमा राख्न सके महत्वपुर्ण हुने बताए । उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव बुद्धिराज ढुंगानाले प्रदेश सरकारले धरानलाई महत्व दिएर खेलकुद, चलचित्र र पर्यटकीय नगर बनाउने घोषणा गरेको बताए । पर्यटन समितिका सहसंयोजक किसोर थुलुङले हाल धरान र आसपासको गन्तव्यहरुको प्रर्वद्धन गर्ने उद्देश्यले पुस्तक तथा पोष्ट निकालिएको र भविष्यमा प्रदेशकै प्रर्वद्धनको काम गर्ने बताए ।

ghantaghar golf IMG_9579