धरान : विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश १, लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनलसहितका सबै खेल धरानमा हुने भएको छ ।

विराटनगरको सहीद रंगशालामा बर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको हो । आज दिउँसो लिग आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै मौषम प्रतिकुलताको कारण प्रतियोगिता धरानमा सारिएको जानकारी दिएको छ । पर्सि असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुनेछ । धरानमा फाइनल चरणका सबै ७ खेल हुनेछ ।

प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्वनिर्धारित विराटनगरमा हुने भनिएको खेल धरानमा आयोजना हुने बताए । ‘प्रतिकुल मौषमको कारण विराटनगरमा आयोजना गर्न सम्भव भएन, त्यसैले पर्सिदेखि हुने सबै खेल धरानमा गर्ने निर्णय गरेका छौं,’संयोजक राईले भने । उनका अनुसार मौषम प्रतिकुल भएपछि आज बिहान आकस्मिक बैठक बसेर प्रतियोगिता धरानमा सार्ने निर्णय गरिएको हो ।

brtngrn

प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल असार ३१ गते हुनेछ । यसअघि, क्षेत्र १ को प्रतियोगिता धरानमा भएको थियो भने क्षेत्र २ र ३ को प्रतियोगिता उदयपुर र इलाममा भएको थियो । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैया अखिल नेपाल फुटबल संघ एन्फाले विनियोजन गरेको छ ।

लिग उपाधि विजेतालाई चाँदीको ट्रफी

mukyamantri-cup

आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर उक्त ट्रफीसमेत सार्वजनिक गरेको थियो ।
उक्त ट्रफी प्रदेश १ को नक्सा अंकित भएको आयोजक समितिका संयोजक राईले बताए ।

ट्रफी विजेता टोलीले एकमहिना उत्साह र खुशीयाली मनाउनको लागि राख्न पाउने उनको भनाई थियो । “ट्रफी एकमहिना विजेता टोलीले राखेर पुनः आयोजकलाई फिर्ता गर्नुपर्नेछ । अर्कोपटक रनिङ शिल्डका रुपमा प्रतियोगिता हुन्छ,”उनले भने । विजेता टोलीले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया पाउनेछ ।