धरान : सुनसरी उद्योग वाणिज्य संघ धरानको नवनिवार्चित कार्यसमितिले धरानमा रहेका बैंकका प्रबन्धकहरुसँग छलफल गरेको छ ।

संघको सभाकक्षमा आयोजित छलफलमा कार्यसमिति पदाधिकारी एवं सदस्यहरुले उद्योगी, व्यवसायीहरुको समस्याबारे बैंक प्रबन्धकहरुसँग बुधबार छलफल गरेको हो । संघका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा भएका कार्यक्रममा बैंकहरुका तर्फबाट मितेरी डेभलपमेन्ट बैंकका सिईओ तुलसीप्रसाद बस्ती र सनराईज बैंकका प्रबन्धक बर्बरिक पोखरेलले सामुहिक धारणा प्रस्तुत गरेका थिए । सामाजिक उत्तरदायित्व बोधसंगै धरानको विकास निर्माणमा बैंकहरुले सामुहिक रुपमा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने उनीहरुले प्रतिबद्धता जनाएका थिए ।

udhyog-banijya

छलफल कार्यक्रमा संघका कार्यसमिति सदस्य विष्णु बराल, नविन राजण्डारी, मनोज श्रेष्ठ, शशि साह, गोपाल श्रेष्ठ, नारायण लिम्बु लगायतले धरानका व्यापारीहरुको समस्याका बारेमा बैंकहरुलाई सुझाव राखेका थिए । छलफलमा बैंकहरुमा ग्राहकमैत्री वातावरण नभएको र ब्याजदर बढ्ने बिषयमा कुरा उठाएको सदस्य विष्णु वरालले बताए । 'एक डेढ घण्टा ग्राहकहरु उभिनुपर्ने हुन्छ, ग्राहक संख्या अनुसार काउण्टर थप गरेर व्यवस्थित हुनुपर्छ भन्यौं, बैंकहरुले ब्याजदर बढाईरहने बिषयमा पनि कुरा उठायौं,'उनले भने ।
संघले आगामी दिनमा धरान उपमहानगरपालिकासँग समन्वय गरी उद्योगी व्यवसायीहरुलाई समेत सहभागी गराएर बैंकहरुसँग पुनः कार्यक्रम गर्ने संघका महासचिव राजेश अग्रवालले जानकारी दिए ।

तस्वीर स्रोत: विष्णु बराल