ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश १ का ४ सय ७३ प्रहरी कारबाहीमा” शीर्षकको समाचार छापिएको छ । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चालु आर्थिक वर्षमा डिएसपीसहित ४ सय ७३ जना प्रहरीलाई कारबाही गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म १ डिएसपी र दुई इन्स्पेक्टर सहित ४ सय ७३ जनालाई प्रहरी आचरणविरुद्ध काम गरेको भन्दै कारबाही गरेको हो । संगठनविरुद्ध काम गर्ने एक डिएसपीले नसिहत पाएका छन् । १ जना डिएसपीलाई नसिहत र एक जनालाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १० जना सइ, ४८ जना असइ, १ सय २ जना हवल्दार र २ सय ७० जना प्रहरी हवल्दारलाई कारबाही गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “उदयपुरमा रोकिएन नदी उत्खनन्” शीर्षकको समाचार छापिएको छ । राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार र बिक्री वितरण गर्न रोक लगाए पनि उत्खनन् र चोरी निकासी रोकिएको छैन । यसरी अवैध नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुईवटा ट्याक्टर नियण्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ । मंगलबार एउटा ट्याक्टरलाई बालुवा निकाल्दै गरेका बेला फेला पारेर पक्राउ गरी जिल्ला समन्वय समितिबाट जरिवाना गराएर छाडेको प्रहरीले बुधबार पुनः अर्को ट्याक्टरलाई त्यसैगरी बालुवा चोरी अभियोगमा रंगेहात पक्राउ गरेको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कतार पुगेको २ महिनामै नेपाल फर्काइदिन आग्रह” शीर्षकको समाचार छापिएको छ । मोरङको सुन्दरहरैचाँकी १ जना महिलाले कतार पुगेको २ महिना नबित्दै उद्धारका लागि आग्रह गरेकी छिन् । सुन्दरहरैचा नगरपालिका १० की तीर्था विकले श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् । गत जेठ १४ गते नेपालकै बाटोबाट कतार पुगेकी उनले दोहोरो टेलिफोन संवादमा त्यहाँ आफूले भोगेका सबै पीडा सञ्जेललाई सुनाइन् ।