धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारसहित दुई जना घुसको रकमसहित पक्राउ परेका छन् ।

उनीहरुलाई केही बेरअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली ८ लाख घुससहित पक्राउ गरेको हो । रौनियारसँगै अर्का डा. रामहरी रौनियार पनि पक्राउ परेको अख्तियारले पुष्टि गरेको छ । दुवैलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट आएको टोलीले पक्राउ गरेको हो । डा.रामहरी उपकुलपतिका भतिजा हुन् । उनी प्रतिष्ठानमा कार्यरत छन् ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको सुचना एवं उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
‘केन्द्रीय कार्यालयबाट नै गएको टोलीले पक्राउ गरेको हो, ८ लाख घुस सहित समातिएको छ,’प्रवक्ता कोइरालाले मोवाइल सम्पर्कमा भने,‘उनीहरुलाई काठमाण्डौं नै ल्याइन्छ ।’

प्रवक्ता कोइरालाका अनुसार सेवाग्राहीसँग ८ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा रौनियारलाई पक्राउ गरिएको हो । उनीहरुलाई उपकुलपतिको निवासबाट रङ्गेहात नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।