धरान: घुस लिएको ८ लाख रकमसहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिज डा.रामहरी रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौं लगेको छ ।

बिहिबार राती घुस दिएको रकमसहित अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट आएको टोलीले उपकुपति रौनियार र भतिजलाई रंगेहात पक्राउ गरेको थियो । दुवैलाई थप अनुसन्धानको लागि काठमाण्डौं लगिएको आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘८ लाख घुस लिएको सबुत प्रमाणसहित २ जना पक्राउ परेका छन्, जो सुकै पनि नियन्त्रणमा लिएपछि बाटोको म्यादबाहेक टंगाल ल्याइन्छ,’प्रवक्ता कोइरालाले भने,‘टंगाल ल्याएपछि बिशेष अदालतमा म्याद थप गरेर अनुसन्धान गरिन्छ ।’अख्तियारका प्रवक्ता कोइरालाले पक्राउ परेका रौनियार उपकुलपति पदबाट स्वतः निलम्बनमा पर्ने पनि बताए ।

बिहिबार राती प्रमाणसहित पक्राउ परेका रौनियार र उनका भतिजलाई सर्जमिन मुचुल्का गर्न घण्टौं समय लागेको थियो । आयोगको टोली राती सवा १ बजेमात्र उपकुलपतिको कार्यालयबाट बाहिरिएको थियो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा ठेकेदारसँग कमिशन वापतको घुस लिएको प्रमाणसहित रौनियारलाई आयोगको टोलीले पक्राउ गरेको हो । घुस मागेको मोवाइल रेडर्कसहित अख्तियार केन्द्रीय कार्यालयमा उजुरी पुगेपछि आयोगको टोलीले योजनावद्धरुपमा पक्राउ गरेको हो ।